‘विश्व–दृष्टि’ लिएर अाए भोजपुरे युवा


 


photoकाठमाडौं, असार २७

विश्व दर्शन अभियानमा संलग्न भोजपुरका दुई यात्री नवराज भट्टराई ‘कोऽहम्’ र नारायणप्रसाद भट्टराई ‘सोऽहम्’ ले व्यक्ति–व्यक्तिमा सकारात्मक सोचको जागरण गराउने उद्देश्यले ‘विश्व–दृष्टि’ पुस्तक सार्वजनिक गरेका छन् । उनीहरूले लेखेको यो पुस्तकलाई प्रा.डा. गोविन्दराज भट्टराईले एक कार्यक्रमका बीच लोकार्पण गरे ।

लोकार्पण कार्यक्रममा बोल्दै डा. भट्टराईले भने– ‘यो पुस्तक मणिरत्नको माला नै भएकाले लेखकद्वयले एउटै विषयमा पनि विशिष्टिकृत गर्न आवश्यक देखिन्छ ।’ टिप्पणीकार डा. कुमार कोईरालाले विविध व्यवहारोपयोगी प्रसंग समेटिएको यस पुस्तकभित्र ‘विश्वका लागि जीवन दृष्टि र जीवनमा विश्वको दृष्टि एकै साथ आएको बताए ।’

अर्का टिप्पणीकार डा. नारायण चालिसेले भने– ‘पुस्तकमा लेखकले विश्व दर्शनका उद्देश्य र अभियानका क्रममा अनुभूत गरेका कुराहरुबाट निचोड निकाल्दै जीवनको समीक्षा ग्रन्थ नै भएको छ ।’ पुस्तकका लेखक सोऽहम्ले नेपाली समाजलाई सकारात्मकतातर्फ लैजान अत्यन्त आवश्यक भएको जनाउँदै यसका लागि आफूहरुले ४ देश (नेपाल, भारत, भूटान र म्यानमार) यात्राका अनुभव सार लगायत विविध प्रेरक प्रसंग पुस्तकमा समेटेको बताए ।

अर्का लेखक कोऽहम्ले भने– ‘नेपाली समाजको मनोबल उकास्न यो पुस्तक सहयोगी हुने विश्वास हामीले लिएका छौं ।’ विश्व दर्शन केन्द्रमा आयोजित उक्त कार्यक्रममा लेखकद्वयले निकट भविष्यमै विश्व दर्शन भाग–२ पुस्तक र वृत्तचित्र साथै नेपाल दर्शनको पहिलो पुस्तक ‘नेपाल भ्रमणका ७३० दिन’ लाई परिमार्जित गरी सार्वजनिक गर्ने र विश्व यात्राका थप कार्यक्रमलाई निरन्तरता दिईरहने जानकारी दिए । कार्यक्रमको शुभारम्भ ध्यान र राष्ट्रगानबाट गरिएको थियो ।

सरकार बलियो भए राष्ट्रको विकास हुने र नागरिकको शीरसमेत उँचो हुने बताउँदै प्रकाशन संस्था विश्व दर्शन अभियान, नेपालले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा यस पुस्तक बिक्रीबाट प्राप्त १० प्रतिशत रकम प्रदान गर्ने जानकारी दिएको छ । अभियान सहयोगार्थ पुस्तकको मूल्य व्यक्तिगत रू. २५०/– र संस्थागत रू. ५००/– राखिएको छ ।

प्रकाशित मिति: २७ असार २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्