विद्युत प्राधिकरणका सुपरभाइजर घुससहित रंगेहात पक्राउ


 


भक्तपुर, असार २०

नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाका सुपरभाइजर भगवान सागर भैललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिइरहेको अवस्थामा रङ्गे हात पक्राउ गरेको छ ।

आयोगको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले भैललाई रु ११ हजार घुस लिइरहेको अवस्थामा उनकै कार्यकक्षबाट सोमबार रङ्गेहात पक्राउ गरेको हो ।

एक ग्राहकसँग मिटरको क्षमता वृद्धि गर्न भैलले घुस मागेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले अनुसन्धानका क्रममा भैललाई रङ्गेहात पक्राउ गरेको हो ।

सूर्यविनायक नगरपालिका–५, साविक कटुञ्जे गाविस–१ मा अवस्थित एक मसला उद्योगले १५ एम्पियरको मिटरलाई ३२ एम्पियर बनाउन निवेदन दिएकोमा भैलले ढिलासुस्ती गर्दै ग्राहकसँग घुस मागेका थिए ।

ग्राहकले आयोगमा उजुरी गरेपछि आयोगको टोलीले छानबिन सुरु गरेको थियो । भैल प्राधिकरण भक्तपुर शाखाको नयाँ ग्राहक सेवाका पाँचौँ तहका सुपरभाइजर हुन् ।

पक्राउ परेका सुपरभाइजर भैललाई अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धानका लागि हिरासतमा राखेको छ । थप अनुसन्धानपछि भैललाई कानुनबमोजिम कानुनी प्रक्रिया अघि बढाइने अख्तियारले जनाएको छ । रासस

प्रकाशित मिति: २० असार २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्