भरतपुर प्रकरण : हेर्दाहेर्दैमा रह्यो मुद्दा, अब कहिले हुन्छ अर्को सुनुवाई ?


 


काठमाडौं, साउन ९

भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनःमतदान गराउने वा पुन: मतगणना गर्ने भन्ने विषयको सुनुवाई सर्बोच्च अदालतले सोमबार पनि गर्न सकेन ।

न्यायाधीशद्धय ओमप्रकाश ओझा र पुरुषोत्तम भण्डारीको इजलासमा तेस्रो दिन चलेको सुनुवाई पनि नसकिएपछि हेर्दा हेर्दैमा रहेको छ । अब अर्को सुनुवाई साउन १२ गतेका लागि तोकिएको छ ।

आइतबार रिट निवेदक गुन्जमान विश्वकर्माको पक्षबाट अधिवक्ता चन्द्रकान्त ज्ञवाली, बिजयकान्त मैनाली, हरि उप्रेती, बाबुराम दाहाल, हरि फुँयाललगायतले बहस गर्दै पुनः मतदान गराउने नियतले मतपत्र च्यातिएकाले यस्तो हर्कतलाई अदालतले पश्र्रय दिन नहुने जिकिर गरेका थिए ।

वैशाख ३१ गते भएको पहिलो चरणको निर्वाचनको मतगणना भइरहेका बेला जेठ १४ गते राति मतपत्र च्यातिएको थियो । मतगणनाका क्रममा माओवादी कार्यकर्ता मधु न्यौपाने र द्रोण शिवाकोटीले मतपत्र च्यातेपछि १९ नम्बर वडामा पुनः मतदान गर्ने आदेश निर्वाचन आयोगले दिएको थियो । छानविन गर्दा ९० मतपत्र च्यातिएको पाइएको थियो ।

आयोगको निर्णयमा चित्त नबुझेपछि वडा नं. १९ का एमाले उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसी पाण्डेले सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्र शम्सेर जबराको इजलासले तत्काल पुनः मतदानको निर्णय कार्यन्वयन नगर्न निर्वाचन आयोगलाई अन्तरकालिन आदेश दिएको थियो । त्यो बेलादेखिनै अहिलेसम्म यो मुद्दा सर्बोच्चमा अल्झिरहेको छ ।

प्रकाशित मिति: ९ श्रावण २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्