घातक बन्दै मौसमी इन्फ्लुएन्जा, मान्छेबाट मान्छेमा सर्‍यो


 



काठमाडौं, साउन १५

राजधानीका अस्पतालमा इन्फ्लुएन्जा (एच१एन१ पिडिएम ०९) भाइरस संक्रमित बिरामीको संख्या बढ्न थालेको छ । स्याङ्जाको वालिङमा मौसमी इन्फ्लुएन्जाले महामारीको रूप लिएपछि उनीहरूको काठमाडौंमा उपचार भइरहेको छ । मौसमी इन्फ्लुएन्जा एच१एन१ पिडिएम ०९ भाइरसका कारण स्याङ्जामा अहिले ५० जना बिरामी परेका छन् ।

मानिसबाट मानिसमा सर्ने भएका कारण स्याङ्जाको वालिङमा यस इन्फ्लुएन्जाले महामारीको रूप लिएको हो । रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा यो भाइरस छिटो संक्रमण हुने भएकाले रुघाखोकी लाग्नासाथ उपचार गराउन चिकित्सकले सुझाब दिएका छन् । विगतमा सुँगुरबाट (एच१एन१) भाइरस सर्दै आएको थियो । अहिले यसले आफ्नो रूप परिवर्तन गरेको छ ।

संक्रमित हुनासाथ फोक्सोमा खराबी
सिजनल इन्फ्लुएन्जा (एच१एन१ पिडिएम ०९) ले कमजोर व्यक्तिलाई आक्रमण गरी छोटो समयमा दुवै फोक्सामा खराबी ल्याउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा.शेरबहादुर पुनले जानकारी दिए । ‘यसलाई नेपालमा निकै बेवास्ता गरेको जस्तो देखिन्छ । भारतमा एच१एन१ पिडिएम ०९ भाइरस निरन्तर दिखिँदै आएको छ,’ उनले भने ।

नेपालमा पछिल्ला केही वर्षयता एच१ एन१ पिडिएम ०९ का बिरामीको संख्या निरन्तर वृद्धि भइरहेको छ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा सिजनल इन्फ्लुएन्जा (एच१एन१ पिडिएम ०९) संक्रमित ६ र टिचिङ अस्पतालमा दुईजनाको उपचार भइरहेको स्वास्थ्य सेवा विभाग स्रोतले जनाएको छ । संक्रमित बिरामीले तत्काल उपचार सेवा नपाएमा छातीको खराबी हुने चिकित्सकको भनाइ छ ।

सुँगुरबाट होइन, मानिसबाटै फैलियो
स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एच१एन१ पिडिएम ०९ कुनै नयाँ रोग नभएको बताएको छ । ‘बाहिर आएजस्तो स्वाइनफ्लु होइन,’ महाशाखाका उपनिर्देशक डा. गुणनिधि शर्माले नयाँ पत्रिकासँग भने, ‘यो सिजनल रुघाखोकी हो । स्याङ्जाबाट उपचारका लागि आएकामा इन्फ्लुएन्जा एच१एन१ पिडिएम ०९ फैलिएको पाइयो ।’

उनले सुँगुरमा देखिएको एच१एन१ भाइरस नभई मानिसबाट मानिसमा सर्ने इन्फ्लुएन्जा एच१एन१ पिडिएम ०९ भाइरसको प्रकोप देखिएको बताए । उनका अनुसार क्षयरोग भएका, स्वासप्रस्वासको रोग भएका, मुटु, मोटोपन, धूम्रपान तथा मद्यपान गर्ने, दम, मधुमेह, मृगौला फेल भएका, डायलासिस गरिएका, ६५ वर्षमाथि र पाँच वर्षमुनिका बालबालिका, गर्भवती महिला यसको उच्च जोखिममा पर्ने गरेका छन् ।

स्याङ्जामा देखिएको प्रकोपबारे अध्ययन गर्न इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र विश्व स्वास्थ्य संगठनको एक टोली त्यसतर्फ गएको छ । सुँगुरमा नदेखिएका वेला मानिसमा कसरी यो भाइरस फैलियो भन्ने अध्ययन, अनुसन्धान गर्ने डा.शर्माले बताए ।

सुँगुरमा समस्या छैन
भेटेरेनरी इपिडिमियोलोजी केन्द्रका प्रमुख डा.मुकुल उपाध्यायले सुँगुरमा कुनै रोग नदेखिएकाले स्याङ्जामा देखिएको मौसमी इन्फ्लुएन्जालाई स्वाइनफ्लु भन्न नमिल्ने बताए । ‘स्वाइन फ्लु अहिले देखिएको छैन ।

सुँगुरबाट मानिसमा सर्न छाडेको धेरै भएको छ । यसले आफ्नो रूप परिवर्तन गरी इन्फ्लुएन्जा एच१एन१ पिडिएम ०९ भाइरसका रूपमा देखापरेको हो । यो मानिसबाट मानिसमा मात्रै सर्छ,’ उनले भने ।

औषधिले समेत काम गरेन
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै दैनिक १० देखि १५ जना रुघाखोकी लागेका बिरामी आउने गरेका छन् । उनीहरूलाई औषधिले समेत काम नगरेको चिकित्सक बताउँछन् । ‘भारतमा इन्फ्लुएन्जा एच१एन१ पिडिएम ०९ कडा रूपमा देखिएको छ,’ डा. पुनले भने, ‘नेपालमा पनि यसले ठूलो रूप लिन सक्छ ।’

उनले एच१एन१ पिडिएम ०९ भाइरसको जिनमा परिवर्तन आई कडा रूपमा देखिन थालेको बताउँदै ‘टेमी फ्लु’ नामक औषधि चलाउँदा पनि काम नगरेको जानकारी दिए । जसका कारण बिरामीमा निमोनिया देखिने गरेको छ ।

प्रकाशित मिति: १५ श्रावण २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्