भरतपुर प्रकरण : सर्वाेच्च अदालतको फैसलापछि के भन्छन् देवी र रेणु ?


 


रत्ननगर (चितवन), साउन १६

स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट चितवनको भरतपुर महानगरपालिकाको प्रमुखका उम्मेदवार बन्नुभएका देवी ज्ञवालीले सर्वाेच्च अदालतको निर्णय त्रुटिपूर्ण र दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिनुभएको छ ।

निर्वाचन आयोगको पुनः मतदान गराउने निर्णयको सर्वाेच्चले सदर गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “अदालतको निर्णय मान्दिन भन्न भएन ।

मान्नै पर्छ, तर यो निर्णय त्रुटिपूर्ण छ र दुर्भाग्यपूर्ण छ ।” उहाँले अब जनतामा गएर विजयी हुने दाबीसमेत गर्नुभयो । उहाँले भन्नुभयो, “अदालतको निर्णयलाई मान्दै जनतामा गई जनताबाट पुनः निर्वाचित भएर आउने कोशिस गर्छु ।”

यस्तै नेकपा (माओवादी केन्द्र)का तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुखका उम्मेदवार रेणु दाहालले सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको प्रतिक्रिया दिनुभएको छ ।

उहाँले फैसलाले जनताको अभिमतको कदर गरेको र जनताको पक्षमा फैसला भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कानुनलाई सर्वोपरी ठान्ने व्यक्तिको नाताले यो निर्णय सहर्स स्वीकार्दै सम्मान र स्वागत गर्दछु ।”

चितवनको भरतपुर महानगरपालिकाको वडा नं १९ को मतगणनाका क्रममा गत जेठ १४ गते राति मतपत्र च्यातिएपछि मतगणना स्थगित भएको थियो ।

उक्त वडामा निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेपछि सोही वडाका एमालेका वडा सदस्यका उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुलसी पाण्डेले आयोगको निर्णय विरुद्ध सर्वाेच्चमा मुद्धा दायर गर्नुभएको थियो । रासस

प्रकाशित मिति: १६ श्रावण २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्