राजपा भित्रै यस्तो दवाब, जान्छ त चुनावमा ?


 


काठमाडौं, साउन १९

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई पार्टीभित्रै तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागी हुन दबाब परेको छ। बबरमहलस्थित वन कार्यालयमा स्थापना गरिएको नयाँ पार्टी कार्यालयमा बुधबारदेखि सुरु भएको पदाधिकारी बैठकमा बोल्ने अधिकांश सदस्यले संविधान संशोधनको परिणाम स्वीकार गरी चुनावमा जान दबाब दिएका छन्। आजको अन्नपूर्णमा खबर छ।

अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बुधबारदेखि प्रारम्भ भएको बैठकमा सहभागी १२ जना पदाधिकारीमध्ये अधिकांशले ०७२ असोज ३ मा जारी संविधानका पक्षमा ९० प्रतिशत सांसद रहेको दाबी गर्नेहरूविरुद्ध संशोधनका पक्षमा सके दुईतिहाइ अन्यथा बढीभन्दा बढी प्रतिशत मत ल्याई संविधान सर्र्वसम्मत नरहेको प्रमाणित गर्ने हिम्मत गर्न माग गरेका थिए।

संशोधन नभएसम्म चुनाव बहिष्कार भन्ने नीतिलाई कहिलेसम्म लैजाने प्रश्न गर्दै उनीहरूले अध्यक्ष मण्डलसँग जवाफ मागेका थिए।

असार १४ मा सम्पन्न दोस्रो चरणको निर्वाचनमा पार्टी निर्णयविरुद्ध प्रदेश नं. १, ५ र ७ मा उम्मेदवारी दिनेविरुद्ध कारबाही गर्न नसक्ने, नेतृत्व तहकै नेताबाट पूर्व र पश्चिमी भेलाद्वारा शीर्ष नेतृत्वका आलोचना गर्दै राजपलाई कमजोर बनाउन गरिएको षड्यन्त्रकारीविरुद्ध किन कारबाही नगरिएको भन्दै अविलम्ब कारबाही माग गरेका थिए।

पदाधिकारी बैठकको प्रारम्भमा राजपा अध्यक्ष ठाकुरले संक्षिप्त धारणा राख्दै संविधान संशोधन दुईतिहाइ मतले पारित नभएसम्म कुनै पनि चुनावमा सहभागी नहुने पार्टी अडान यथावत् रहेको बताएका थिए।

प्रकाशित मिति: १९ श्रावण २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्