आयल निगमले जग्गामा ६ गुणा बढी मूल्य तिरेको खुलासा, यस्तो छ विवरण


 


काठमाडौं, साउन १९

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भण्डारण गर्न भन्दै ६ गुणासम्म मूल्य बढाएर जग्गा खरिद गरेको देखिएको छ। आजको कान्तिपुरमा खबर छ ।

सांसदहरुका अनुसार निगमले झापामा खरिद गरेको २३ बिघा ३ कट्ठा १३ धुरमध्ये करिब २१ बिघा जग्गा दुर्गममा पर्छ। उक्त क्षेत्रमा प्रतिकट्ठा जग्गाको मूल्य डेढदेखि २ लाख रुपैयाँ मात्र हो। तर निगमले ‘चलखेल’ गरेर प्रतिकट्ठा १३ लाख ५१ हजार रुपैयाँ तिरेको छ।

‘ग्रामिण क्षेत्रमा कालोपत्रेले छोएको जग्गाको मूल्य बढीमा ८ देखि १० लाख रुपैयाँ पर्छ। निगमले खरिद गरेको जग्गामध्ये करिब २ बिघा मात्रै कालोपत्रेले छोएको छ, अन्य क्षेत्रको जग्गा डेढदेखि दुई लाख रुपैयाँ मात्रै पर्छ,’ बुधबार सार्वजनिक लेखा समितिमा झापाका सांसद अमृतलाल राजवंशीले भने, ‘कट्ठाको २ लाख पर्ने जग्गामा १३ लाख ५१ हजार तिरिएको छ। जग्गा खरिदमा धेरै आर्थिक चलखेल भएको छ।’

झापाकै अर्की सांसद उषा गुरुङले पनि ‘दुई लाख पर्ने जग्गालाई साढे १३ लाख रुपैयाँ तिर्नुले अचम्मित बनाएको बताइन्।

निगमले सर्लाहीमा ९ लाख १६ हजार रुपैयाँका दरले १५ बिघा १२ कट्ठा खरिद गरेको छ। सांसद डिम्पलकुमारी झाले चलखेल गरेर एक कट्ठामा ९ लाख ६१ हजार तिरेको आरोप लगाइन्। ‘निगमले पास गर्नु अघिल्लो दिन प्रतिकट्ठा ३ लाख रुपैयाँमा पास भएको छ। तर भोलिपल्टै निगमले ९ लाख ६१ हजारमा पास गर्‍यो,’ उनले भनिन्, ‘चलखेलकै कारण एक दिनमै ६ लाख रुपैयाँको अन्तर देखियो।’ निगमले चितवनमा प्रतिकट्ठा १५ लाख ८५ हजार रुपैयाँका दरले २३ बिघा १२ कट्ठा र भैरहवामा १० लाख ९३ हजार रुपैयाँँका दरले १४ बिघा ७ कट्ठा खरिद गरेको छ।

प्रकाशित मिति: १९ श्रावण २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्