फेसबुकको फन्दा, बेचिनबाट यसरी जोगिइन् किशोरी


 


कञ्चनपुर, साउन २०

रुकुमको कोल गाउपालिकाकी धनमाया (नाम परिवर्तन) को फेसबुकमार्फत कञ्चनपुरका एक युवकसँग परिचय भयो । कुराकानीसँगै मोवाइल नम्बर पनि साटासाट भयो । घण्टौं फेसबुकमै झुण्डिएर ति युवकसँग उनी गफिन्थिन् । धनमाया ति युवकसँग प्रेममा फस्न थालिन् ।

फेसबुकमा युवक र युवतीले आफ्नो तस्विर राखेका थिएनन् । अचानक एकदिन धनमायाको फेसबुक ब्लक भएपछि फोनमा कुराकानी हुन थाल्यो । फेसबुक र मोवाइलमा लामो समय कुराकानीपछि उनीहरु दुवै नजिक भए । ति युवकले धनमायालाई घुम्ने बहानामा बोलाउन थाले । धेरै कर गरेपछि धनमाया आफ्नी दिदिसँगै महेन्द्रनगर पुगिन् ।

युवकले उनलाई बनबसा पुलमा बोलाएका थिए । गड्डाचौकी नाका हुँदै जान लागेका दिदीबहिनीलाई माईती नेपालका कर्मचारीले रोकेर सोधपुछ गरे । त्यसपछि माईती नेपालका कर्मचारी युवतीहरुलाई गड्डामै राखेर युवक खोज्न हिंडे । नेपाली र भारतीय प्रहरीको सहयोगमा ति युवक पक्राउ पनि परे । उनी पक्राउ परेपछि धनमाया र उनकी दिदिलाई भारततिर पठाउन खोजेको रहस्य बाहिर आयो ।

‘धन्न हामी जोगियौं’ गत साता माईती नेपालले उद्धार गरेर फिर्ता ल्याएपछि घर जाने क्रममा भेटिएकी धनमायाले भनिन्, ‘फेसबुक र मोवाइलकै भरमा झण्डै बेचिएका थियौं ।’ युवकले झोलुंगे पुल, शुक्लाफाँटा र बनबसा पुल घुमाइदिने भन्दै बोलाएको उनले बताइन् ।

माईती नेपालले भारतीय प्रहरीको एण्टी ह्युमन ट्राफिकिंङ सेलको सहयोगमा महाकाली नगरपालिकाका मोहन पाललाई नियन्त्रणमा लिएको हो । उनीसँग ५ किलोग्राम अफिमसमेत भेटिएपछि भारतीय प्रहरीले नै हिरासतमा राखेको छ । ‘उनले आफूलाई अर्कै युवकले युवतीहरु ल्याउन पठाएको बयान दिएका छन्’ माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले भनिन्, ‘अफिम भेटिएपछि भारतीय प्रहरीले ति युवकको पनि खोजी गरिरहेको छ ।’ मोहनले धनमायासँग फोन र फेसबुकमा कुरा गर्ने पनि आफू नभएको बताएको उनले बताइन् ।

मोवाईल र फेसबुकको बढो प्रयोगले केहि वर्षयता त्यसकै माध्यमबाट माया प्रेमको जालमा फसेर कयौं युवतीहरु भारत पुगेको हुन सक्ने रोकथाममा लागेकाहरु बताउछन् ।

त्यस्तै, फेसबुककै माध्यमबाट महेन्द्रनगरका नरेश अवस्थीसँग प्रेमसम्बन्ध सुरु भएपछि काठमाण्डौ कि १७ वर्षीया एक किशोरी पनि घर छाडेर हिडेको भट्टले बताईन । नरेश कि पहिलो श्रीमतीले थाहा पाएपछि ति किशोरीलाई प्रहरीको जिम्मा लगाइएको हो । पछि उनका अभिभावकको जिम्मा लगाएर घर पठाइएको हो । आजको कान्तिपुरमा खबर छ ।

प्रकाशित मिति: २० श्रावण २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्