जब मनकामनामा बोको ढल्यो‍…


 


काठमाडौं, साउन २२

एक मात्र छोरो हराएपछि विक्षिप्त भएका असनका व्यवसायी विजय चौधरी छोराको खोजीमा प्रहरी प्रशासन मात्र होइन, भगवानको समेत भर परेका थिए । छोरो भेटिए मनकामना मन्दिरमा बोको चढाउने उनले भाकल गरेका थिए ।

अपहरणमा परेका ६ वर्षीय छोरा विशाल चौधरी गत सोमबार सकुशल भेटिए । प्रहरीबाट जोगिन नसक्ने ठानेपछि अपहरणकारीले बच्चा छाडिदिएका थिए । प्रहरीको मिहिनेतले छोरा सकुशल पाएपछि उनले धन्यवाद दिए ।

तर, अपहरणकारी पक्राउ परेका थिएनन् । प्रहरी अपहरणकारीको खोजीमै थियो । शनिबार बिहानै विजय भाकल पूरा गर्न गोरखास्थित मनकामना मन्दिर पुगेका थिए । मन्दिरमा बोको काटेका मात्र के थिए, उनको मोबाइलमा फोन आयो । ‘विजयजी तपाईंका छोराका मुख्य अपहरणकारी समातिए,’ अनुसन्धानमा आबद्ध महानगरीय अपराध महाशाखाका प्रहरी नायव निरीक्षक गजेन्द्र रावलले भने । अपहरणका नाइके विजय विकलाई प्रहरीले उदयपुरमा पक्राउ गरेको थियो । उनलाई अनाैँठो लाग्यो । ‘कतै मेरो भाकलकै कारण पक्राउ परेका त होइनन् भन्ने लाग्यो,’ शनिबार प्रहरीको पत्रकार सम्मेलनमा भेटिएका विजयले सुनाए ।

अपहरणकारी नै प्रहरीका सहयोगी बने
त्यो भन्दा अनौँठो त विजयलाई अपहरणकारीको पहिचान खुलेपछि लागेको थियो । अपहरणका योजनाकार राजु उनकै बाल्यकालका साथी थिए । जसले अपहरणपछि बच्चा खोज्न प्रहरीलाई सहयोग गरेको निकै नाटक गरेका थिए । विकसहित अपहरणमा संलग्न विष्णु पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले अपहरणपछि विजयसँग ५० लाख रुपैयाँ फिरौती मागेका थिए ।

प्रकाशित मिति: २२ श्रावण २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्