प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय, कहिले जाँदैछन् ?



काठमाडौँ, साउन २३

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी भदौ ७ देखि ११ गतेसम्म दक्षिणी छिमेकी मुलुक भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।

मन्त्रालयको तत्कालीन कार्ययोजना सार्वजनिक गर्ने क्रममा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्रीको भारत भ्रमणको मिति करिब तय भइसकेको बताउँदै भ्रमणका कार्यसूचीका बारेमा छलफल भइरहेको जानकारी दिनुभयो ।

सञ्चारकर्मीका जिज्ञासामा उपप्रधानमन्त्री महराले दुई ठूला छिमेकी चीन र भारतबीचको सम्बन्ध शान्तिपूर्ण, कूटनीति र वार्ताका माध्यमले सुमधुर रहिरहोस् भन्ने नेपालको स्पष्ट नीति रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाको भारत भ्रमणअघि चीनका उपप्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय चिनियाँ प्रतिनिधमण्डलको नेपाल भ्रमण हुने र सो भ्रमण नेपालको भूकम्पपछिको पुनःनिर्माणमा केन्द्रित हुने उहाँको भनाइ थियो ।

उपप्रधानमन्त्री महराका अनुसार यही साउन २६ गतेदेखि नेपालमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)का सदस्य मुलुकको मन्त्रिस्तरीय सम्मेलन हुने छ ।

त्यसको आवश्यक तयारी भइरहेको छ । सम्मेलनमा सातै सदस्य मुलुकका विदेशमन्त्री वा सो सरहको सहभागिता रहनेछ । मन्त्रिस्तरीय सम्मेलनपछि बिमस्टेकको शिखर सम्मेलनसमेत आयोजना गरिने छ ।

 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News