यस्ता छन् प्रहरीले राजधानीमा गरेका अहिलेसम्मका इन्काउन्टर


 


काठमाडौं, साउन २४

पछिल्ला वर्ष काठमाडौं उपत्यकामा प्रहरीले गोली चलाउनु सामान्यजस्तै हुन थालेको छ । चोरदेखि गुन्डानाइकेसम्मलाई प्रहरीले गोली हानेको छ ।

३ भदौ ०७१ मा गुन्डानाइके कुमार घैँटे (कुमार श्रेष्ठ) प्रहरी मुठभेडमा मारिएका थिए । कपुरधारास्थित आफ्नै घरअगाडि अपराध महाशाखाका प्रहरीले उनीमाथि गोली हानेका थिए । काठमाडौं आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

२१ साउन ०७० मा राजधानीका अर्का गुन्डानाइके दिनेश अधिकारी ‘चरी’ प्रहरीको गोलीबाट मारिएका थिए । अपराध महाशाखाकै टोलीले भीमढुंगामा उनीमाथि गोली हानेको थियो । तराईका जिल्लामा अपराधीहरू पटक–पटक प्रहरी मुठभेडमा मारिने गरेका छन् । राजधानीमा भने ‘इन्काउन्टर’मा हालसम्म तीनजना मारिएका छन् ।

प्रहरीले गोली हानी घाइते बनाएर धेरैलाई पक्राउ गरेको छ । १३ मंसिर ०७१ मा सुन्धाराको लुम्बिनी पाहुना घरबाट गोली हानी प्रहरीले फरार अभियुक्त छोटेलाल ठाकुरलाई पक्राउ गरेको थियो ।

९ असार ०७२ मा प्रहरीले बबरमहलमा गोली हानी गुन्डागर्दीमा लागेका जसवन्त सिंहलाई पक्राउ गर्‍यो । गत वर्ष १९ असारमा सुन्धाराको बेबिलोन डिस्कोमा गोली हानी प्रहरीले फरार कैदी रावणजित लामालाई पक्राउ गरेको थियो ।

गत २१ फागुनमा पनि स्वयम्भूमा अपहरणकारीलाई गोली हानी प्रहरीले पक्राउ गरेको थियो । नुवाकोटका तीन युवकलाई अपहरण गरी फिरौती माग्ने दुर्गा तामाङलाई प्रहरीले गोली हानी पक्राउ गरेको थियो ।

त्यस्तै, गत वर्ष २३ पुसमा गोंगबुमा चोरीका अभियुक्त अमृत बयलकोटीलाई गोली हानी घाइते बनाएर पक्राउ गरेको थियो । कतिपय अवस्थामा प्रहरीले आवश्यकताले नै गोली हान्ने गरेको छ भने केही अवस्थामा सनकका भरमा गोली चलाउने गरेको छ ।

प्रकाशित मिति: २४ श्रावण २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्