के हो स्वाइनफ्लु ? कति भ्रम, कति सत्य ?


 


काठमाडौं, साउन २४

विश्व स्वास्थ्य संगठनका अनुसार यो रोग सबैभन्दा पहिले सन् २००९ मा मेक्सिकोको बेराक्रुज इलाकाको सुँगुर फार्ममा देखिएको थियो। त्यसैले त्यो बेला यो रोगलाई ‘स्वाइन फ्लु’ को नाम दिइएको थियो।

विस्तारै यो संसारका धेरै देशमा फैलिएको पाइन्छ। त्यसैकारण संगठनले त्यसलाई ‘एच १ एन १ पेन्डेमिक ०९’ नामकरण गरेको छ।

पछि सुँगुरको सम्पर्कमा नआएका मानिसमा पनि यसका भाइरस भेटिएको पाइन्छ। संगठनले यो रोगले स्वस्थ मानिसमा कुनै क्षति नपुर्‍याउने तर पहिले नै कुनै समस्या भएकामा गम्भीर रूप लिने भएकाले ‘स्वाइनफ्लु’ को भ्रम नछर्न आग्रह गरेको छ।

नेपालमा पनि यो समस्यालाई ‘स्वाइनफ्लु’ को नाममा बेला-बेला सर्वसाधारण आतंकित बन्ने गरेका छन्। पशु स्वास्थ्य निर्देशनालयले यो रोग नेपालमा सुँगुरबाट सरेको नपाइएकाले ‘स्वाइनफ्लु’ भन्न नहुने भन्दै विज्ञप्ति जारी गरेको छ। अाजको अन्नपूर्णमा खबर छ ।

कस्ता व्यक्तिलाई असर गर्छ ?

चिकित्सकका अनुसार यो रोग सबै मानिसमा देखा पर्न सक्छ। रोगप्रतिरोधात्मक क्षमता बढी छ भने सामान्य औषधिले पनि ठीक हुन सक्छ। तर, उनीहरूमा रुघाखोकीसँगै अन्य कुनै समस्या छ भने गम्भीर असर पर्छ। समयमै उपचार नभए मृत्यु नै हुने गर्छ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कन्सल्टेन्ट ट्रपिकल मेडिसिन फिजिसिएन डा. अनुप बास्तोलाका अनुसार यो रोगले खासगरी मिर्गौला, क्यान्सर, मुटु, फोक्सोको समस्या भएका, मधुमेह, थाइराइड र एचआईभी संक्रमण देखिएका व्यक्तिमा छिट्टै आक्रमण गर्छ। समयमै उपचार हुन नसके वा रोग प्रतिरोधात्मक क्षमतामा कमी आए ज्यानै जान पनि सक्ने उनी बताउँछन्।

अत्यधिक अल्कोहल सेवन गर्ने, धूमपान गर्ने व्यक्ति, बालबालिका, गर्भवती महिलालगायत पनि यो रोगको जोखिममा पर्ने गरेका छन्। अन्य मानिस पनि यसबाट सचेत हुनुपर्ने तर आत्तिन नपर्ने उनको भनाइ छ। समयमै परीक्षण भए यसको उपचार सम्भव भएको डा. बास्तोलाले बताए।

यो रोगविरुद्ध खोप पनि लगाउन सकिने चिकित्सकको भनाइ छ। तर, खोप अति महँगो हुने भएकाले सकेसम्म खोप लगाउने अवस्था नआओस् भनेर सचेत हुनुपर्ने चिकित्सकको सल्लाह छ।

डा. बास्तोलाका अनुसार प्रभावित व्यक्तिको सम्पर्कमा आउँदा हावाको माध्यमबाट सबैभन्दा छिटो सर्ने यो रोगले फोक्सोको ‘टिस्यु’ मा असर गरी अपर्झट श्वाप्रश्वासमा बाधा पुर्‍याउन सक्छ। यसलाई चिकित्सक ‘एक्युट रेस्पिराटरी डिस्ट्रेस सिन्ड्रोम’ भन्छन्। यसले गर्दा बिरामी अझ गम्भीर बन्ने गरेका छन्।

 

 

प्रकाशित मिति: २४ श्रावण २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्