कसैले घूस माग्यो ? यो नम्बरमा डायल गर्नुहोस्


 



काठमाडौं, भदौ २
अब कसैले कसैलाई घुस मागेको खण्डमा उजुरी गर्न कुनै समस्या नरहने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका विषयमा पीडित पक्षको उजुरी सुन्न एउटा निःशुल्क टेलिफोनको व्यवस्था गरेको छ ।

अख्तियारले शुक्रबारबाट १०७ नम्बरको निःशुल्क टेलिफोन सुविधा उपलब्ध गराउने भएको हो । उजुरीका लागि उपयोग गरिने यो नम्बरका बारेमा सबै सेवाग्राही कार्यालयमा स्टिकर टाँस गरी जानकारी दिइनेछ।

आयोगका सचिव राजन खनालले सुरुमा काठमाडौँ उपत्यकामा रहेका मालपोत कार्यालय, उपत्यकाका नगरपालिका कार्यालय, श्रम र यातायात कार्यालयलगायतमा बोर्ड रहने बताए ।

भ्रष्टाचारको उजुरी दिँदा पीडित पक्षलाई सजिलो होस् भन्ने उद्देश्यले बोर्ड र स्टिकरको व्यवस्था गरिएको उनले बताए । टेलिफोनमा आएको उजुरीलाई रेकर्ड गरी लिपिबद्ध गर्ने र सुरक्षित राख्ने व्यवस्था गरिएको छ ।

विशेषगरेर रङ्गेहात पक्राउ गर्नुपर्ने भ्रष्टाचारजन्य कार्यमा यो टेलिफोन नम्बर निकै उपयोगी हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: २ भाद्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्