भालु नियन्त्रणका लागि जनप्रतिनिधिलाई गुहार



सोलुखुम्ब, भदौ १०

लामो समयको अन्तरालमा जनप्रतिनिधि पाएका नागरिकले जनप्रतिनिधिबाट कति धेरै अपेक्षा गर्छन् भन्ने कुरा सोलुखुम्बुका विभिन्न गाउँमा भालु नियन्त्रणका लागि स्थानीयवासीले दर्जनौँ निवेदन दिएको कुराबाट पुष्टि हुन्छ ।

यसबेला जिल्लाको विभिन्न वडा कार्यालयमा भालुलगायत जंगली जनावर नियन्त्रण गरिपाउँ भन्ने निवेदनको चाङ लाग्न थालेको छ । सोलु दूधकुण्ड नगरपालिका–३ मा भालु नियन्त्रण गरिपाउँ भन्दै झण्डै दुई दर्जन निवेदन दर्ता गरिएका छन् ।

वडा सदस्य धर्मबहादुर तामाङकाअनुसार स्थानीय २२ जना कृषकले यस्तो निवेदन दर्ता गराएका हुन् । कृषकको मकैबाली भालुले नष्ट गरेपछि कृषकले निवेदन दिएका हुन् ।

यस्तै वडा नम्बर– १० का वडाध्यक्ष मिङमार छिरी शेर्पा पनि भालु नियन्त्रणका लागि दर्जन बढी निवेदन आएका बताउनुभयो । त्यहाँ पनि मकै तथा स्याउमा भालुले क्षति पु¥याएपछि कृषकले निवेदन दिएका हुन् ।

सोलु दूधकुण्ड नगरपालिकाका विभिन्न बस्तीसँगै अन्य गाउँपालिकामा पनि भालु तथा बाँदर नियन्त्रण गरिपाउँ भनि कृषकले निवेदन दिने गरेका छन् ।

यसअघि जंगली जनावरले बालीनाली नष्ट गरेपनि चुपचाप बस्ने गरेका कृषक जनप्रतिनिधि आएपछि नियन्त्रण तथा क्षतिपूर्तिको मागसहित निवेदन दिने गरेका छन् ।

जंगली जनावरबाट मानिस घाइते तथा मानिस वा घरपालुवा जनावरको ज्यान गएमा जिल्ला वन कार्यालयमार्फत राहत तथा क्षतिपूर्ति दिने व्यवस्था भए पनि बालीनालीमा यस्तो व्यवस्था गरिएको छैन ।

अहिले अधिकांश कृषकले कि वन्यजन्तु नियन्त्रण गर्नुपर्ने वा क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

यता मकै तथा स्याउ पाक्न थालेपछि कृषक रातभर ढ्याङ्ग्रो बजाएर बारिमै बस्न थालेका छन् ।

रातको समयमा एकैछिन मात्र सुनसान भएमा पनि भालुले बाली सखाप पार्ने भएकोले रातभर नसुतिकन बाली कुर्नुपरेको तामाखानीका कृषक मेन्दोमाला तामाङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News