गगन आफ्नै नेताको विरुद्ध उत्रिएर भने – भ्रष्टाचारीले उम्मेदवार बन्न पाउँदैन


 


चितवन, भदौ १२

नेपाली काँग्रेसका नेता गगनकुमार थापाले भ्रष्टाचारीलाई उम्मेदवार बन्न दिने गरी विधेयक संशोधन हुन नदिने बताउनुभएको छ ।

आज यहाँ आयोजित गौरीदेवी प्रधानको ८३औँ जन्मोत्सवका अवसरमा ज्येष्ठ अभिनन्दन तथा गौरीदेवी प्रधानको व्यक्तित्व र संस्कृति ग्रन्थको विमोचन कार्यक्रममा बोल्दै उहाँले अदालतले तोकेको समय भुक्तान गरिसकेका भ्रष्टाचारीले उम्मेदवार बन्न पाउनुपर्छ भन्ने पार्टीको कुनै धारणा नरहेको बताउनुभयो ।

संसद्मा कुनै पनि विधेयक प्रस्तुत हुँदै गर्दा त्यो विधेयकमाथि संशोधन हाल्ने सांसदको वैयक्तिक अधिकार रहेको भन्दै उहाँले भन्नुभयो, “जति पनि सांसदले संशोधन हाल्नु भएको छ त्यो नितान्त उहाँहरुको व्यक्तिगत कुरा हो ।” उहाँले चाँडोभन्दा चाँडो विधेयक पारित गर्नुपर्ने बताउनुभयो ।

विधेयकको दफा १३ (ङ) मा भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौज्दारी कसुरमा सजाय पाई वा कुनै कसुरमा २० वर्षभन्दा बढीको सजाय पाई त्यस्तो फैसला भएको व्यक्ति निर्वाचनमा उम्मेद्वार हुन अयोग्य मानिने व्यवस्था छ ।

कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री समेत रहनुभएका थापाले गौरीदेवी प्रधानको व्यक्तित्व र संस्कृति ग्रन्थको विमोचन गर्नुभएको थियो ।

ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालले आयोजना गरेको सो कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा केदारभक्त माथेमा, नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठलगायतले नेपाली राजनीतिक आन्दोलनमा प्रधानले खेल्नुभएको भूमिकाको चर्चा गर्नुभएको थियो । रासस

प्रकाशित मिति: १२ भाद्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्