सुन तस्कर ४३ चिनियाँ नागरिक प्रक्राउ, यस्तो छ तस्करीको जालो


 


काठमाडौं, भदौ २५
भारतीय तथा चिनियाँ तस्करले ०६० सालदेखि रक्तचन्दनको अवैध कारोबारका निम्ति नेपाली भूमि प्रयोग गरे । तातोपानी र रसुवा नाकाका भन्सार कर्मचारी, जिल्लादेखि केन्द्रसम्मका सुरक्षा निकायका उच्च अधिकृत र विभिन्न तहका नेताको संरक्षणमा चलेको यो धन्दा जारी छ । आजको अन्नपूर्णमा खबर छ ।

चीनमा विलासी फर्निचर बनाउन प्रयोग हुने रक्तचन्दको अवैध कारोवारमा नेपाली पक्षले पारवहन सहजकर्ताको भूमिका खेल्यो र त्यसबाट लाभान्वित आपराधिक समूह क्रमशः आर्थिक तथा संगठित अपराधसँग समेत जोडिँदै गए ।

यसका कारण नेपालको अन्तर्राष्ट्रिय जगतमै बदनाम हुँदै जाँदा सरकारले हस्तक्षेप गर्न थाल्यो र तस्कर हच्कन थाले । त्यो अवस्थामा रक्तचन्दनका लागि जति पनि पैसा तिर्न तयार चिनियाँ तस्कर अन्य लाभकारी धन्दातर्फ मोडिए । जसमा डलर, सुन, वन्यजन्तुका अंगप्रत्यंग, जडीबुटीलगायत थुप्रै बस्तु पर्छन्।

जानकारका अनुसार पछिल्ला वर्षमा नेपालमा चिनियाँ तस्करले जरो गाडेका छन् । आवरणमा होटल, रेस्टुराँ र अन्य व्यापार देखिए पनि विभिन्न अवैध धन्दाका कारण चिनियाँ व्यापारी सन्देहको घेरामा छन् ।८८ किलो सुन केरुङ नाकाबाट काठमाडौं ल्याएका चिनियाँ नागरिक वान विई मिङ ठमेलका होटल व्यवसायी हुन् ।

पछिल्लो समय चीनबाट भारी मात्रामा भित्रेका ठानिएका सुन नेपालका सुन पसलमा पनि प्रशस्तै बिक्री हुन्छ । जबकि त्यस्तो सुनका लागि लक्षित गन्तव्य भारतको विशालबजार हो ।गत वर्ष पुसमा प्रहरीले ८ किलो सुनसहित भूगोलपार्कस्थित भाग्यलक्ष्मी ज्वेलर्सका सञ्चालकद्वय विक्रम मित्तल र विवेक मित्तललाई पक्राउ गर्‍यो । उनीहरूलाई भारतीय नागरिक भागिरथ चौधरीले सुन सप्लाई गर्दै आएका थिए ।

चौधरीले ‘मामा’ उपनामका चिनियाँ तस्करबाट सुन बुझेर काठमाडौंका केही सुन पसललाई सप्लाई गर्दै आएका थिए । चिनियाँ तस्करले ल्याएको सुन नेपाली सुन व्यवसायीले खरिद गर्ने यो एउटा चोटिलो उदाहरण बन्यो । उक्त घटनाको अनुसन्धानले चिनियाँ तस्करले भारत मात्रै नभएर नेपालमा समेत आफ्नो जालो विस्तार गर्न खोजेको पुष्टि गरेको थियो ।

०७० असारमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ३५ किलो सुन कोटेश्वरबाट बरामद गर्‍यो । ट्रक चालक निमा छिरिङ, सुनधनी ग्याम्जो लामा, मनोहरकुमार अग्रवाल र गाडीधनी नाङ्गेल भनिने ओमबहादुर बज्राचार्य पक्राउ परे ।

गाडीको अगाडिको भागमा लुकाएर ल्याइएको सुन तातोपानी नाकाबाट सेटिङमै चिनियाँ तस्करले नेपाल कटाएका थिए । सुराकी विवादमा उक्त मुद्दा अहिले पनि थाती छ ।एक साताअघि सीआईबीले १५ किलो सुनसहित सात जना पक्राउ गर्‍यो । त्यो पनि केरुङ नाका हुँदै काठमाडौं भित्रिएको थियो । चिनियाँ तस्करले नै सुन काठमाडौं ल्याई नेपाली ठेकेदारलाई जिम्मा लगाएको निष्कर्षमा प्रहरी अनुसन्धान अगाडि बढेको छ ।

घटना प्रकृति फरक देखिए पनि चिनियाँ तस्कर नेपाली भूमिमा आपराधिक जालो फैलाउन उद्यत देखिन्छन् । सीआईबी, महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरीको विशेष ब्युरोको अनुसन्धानबाट नेपालमा चिनियाँ तस्करको जालो फैलँदै गएको देखाएको छ ।

रक्तचन्दन कारोबारमा चिनियाँ तस्करले जुन हिसाबले लगानी गरेका थिए, ठयाक्कै त्यही ढंगमा यतिबेला सुनमा लगानी भइरहेको अनुसन्धानकर्ताको बुझाइ छ ।१३ वर्षयता उपत्यकासहित काभ्रे र सिन्धुपाल्चोकमा मात्रै करिब ४० टन रक्तचन्दन बरामद भएको छ । १८ करोड रुपैयाँ बराबरका दुई लाख २९ हजार तीन सय ४६ किलो बरामद रक्तचन्दन कुहिने अवस्थामा छन् ।

सुन लिएर आउने डलर लिएर जाने
०७३ माघमा झन्डै तीन लाख अमेरिकी डलर र अन्य विदेशी मुद्रासहित तीन चिनियाँ नागरिक पक्राउ परे । झोेङ डौफाङ, झौ सिलियोन र झाओलियाङ फेङलाई प्रहरीले नागढुंगाबाट नियन्त्रणमा लिएको थियो । यो रकम उनीहरूले ठमेलकै मनि एक्चेन्जबाट सटही गरेको दाबी प्रहरीको छ । खासगरी चीनबाट सुन ल्याएपछि तस्करले उनीहरूलाई डलर साटेर ल्याउन प्रयोग गरेको प्रहरीको बुझाइ छ ।

नागढुंगाबाटै ६ जना चिनियाँ नागरिक विदेशी मुद्रासहित वैशाख २७ मा पक्राउ परे । याओ जिनवान, ताङ, युछिङ, झेङ सुयान, झाओ जिनछेन, सी झियुन, लियू छियोमोई नामक चिनियाँ नागरिकबाट प्रहरीले तीन लाख ४९ हजार तीन सय अमेरिकी डलर, ६ हजार आठ सय ५० युरो, १७ हजार सात सय ८१ चिनियाँ यूआन, २९ लाख ५० हजार जापानी एन, दुई हजार दुई सय स्वीस फ्रेंक, एक हजार चार सय अस्ट्रेलियन डलर, एक हजार एक सय पाउन्ड स्टर्लिङ र २४ हजार नेपाली रुपैयाँ बरामद गरेको थियो ।

‘सुन तस्करीबाट पाएको नेपाली पैसालाई डलर र अन्य विदेशी मुद्रामा सटही गरेको अनुसन्धानले देखाएको छ’, एक उच्च प्रहरी अधिकृतले भने, ‘चीनबाट सुन ल्याउने र काठमाडौंमा बिक्री गरेपछि डलर लिएर जाने प्रवृत्ति बढेको छ ।’

यी दुई घटनाले चिनियाँ नागरिक डलर तस्करीमा प्रयोग भएको पुष्टि हुन्छ । त्यसो त चिनियाँ नागरिकले डलर तस्करीका लागि सुरक्षा संवेदनशील क्षेत्र विमानस्थललाई समेत प्रयोग गरेका छन् ।

विमानस्थलमा कडा सुरक्षा जाँच हुने भएपछि सडकमार्गबाट डलर तस्करी गर्ने काइदा रोजे पनि चिनियाँ तस्कर पक्राउ परेका थिए । ०७२ भदौ १० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक यि वाङ पक्राउ परे । उनले चुरोटको बट्टाभित्र ६० हजार डलर राखेर लैजाने क्रममा प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धानपछि उनी चार पटकसम्म नेपाल आएर डलर तस्करी गरेको पत्ता लागेको खुलेको थियो ।

०७१ चैतमा विमानस्थलबाटै चिनियाँ महिला यिङ लु एक लाख १३ हजार दुई सय ५० अमेरिकी डलरसहित पक्राउ परेकी थिइन् । उनी डलर लिएर स्वदेश जाने क्रममा प्रहरी नियन्त्रणमा परेकी थिइन् ।

प्रकाशित मिति: २५ भाद्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्