विपन्न तर उज्यालो बस्ती


 


solar bitaranध्रुव सुवेदी
भोजपुर, साउन ११
यहाँको उत्तरी किमालुङ गाविस २ भैंसेकी गोरीमाया तामाङ (७४) का पाइताला पटपटी फुटेका छन् । अनुहारमा गुजुमुजु परेका बुढ्यौलीका धर्साहरु प्रष्ट देखिन्छन् ।

उनको जीन्दगी एक्लो छ । छन त छोराबुहारी छन तर छुट्टिएर बसेका छन् । गरीबी र अभावसँग सर्घष गरीरहेकी तामाङको जीन्दगी जसोतसो चल्दैछ । यो बुढेशकालमा एक्लो महशुस गरीरहेकी तामाङको अनुहारमा यतिबेला छुट्टै आभा छ ।

उनको त्यो अनुहारमा आभा भर्ने काम त्यतिबेला भयो, जब उनले निशुःल्क सोलार सेट पाईन । घरको झुपडीमा दाउरा बाल्दा र मट्टितेलबाट कुपीको सलेदो जल्दा उज्यालो हुने उनको यो घर यतिबेला सोेलारले उज्यालो छरिदिएको छ ।

खुसी छु, घरमा कुपी बाल्नु पर्देन्, सोलारको उज्यालोमा बस्न थालेकी तामाङले खुसी ब्यक्त गरिन् । भैंसेकै ७३ बर्षीय मनबहादुर तामाङको खुसी गोरीमायाको भन्दा कम छैन् । गत मंसीर महिनामा सोलार सेट पाएका तामाङले खुसी ब्यक्त गर्दे भने मट्टितेल किन्न बजार धाउनुपर्ने बाध्यता हटेको छ ।

यहाँका एक सय १३ विपन्न घर परिवारलाई निशुःल्क सोलार सेट वितरण भएपछि गाउँले दंग छन् भने यो विपन्न बस्ती पुरै उज्यालो भएको छ । नेपाल ग्रामीण पुनःनिर्माण संस्था (आरआरएन) को बहुसरोकारवाला बन कार्यक्रम अन्तरगत किमालुङ गाविसका विपन्न परिवारलाई सामूहिक अभियान र हिहल्र्ड नेपालले २० वाट क्षमताको सोलार सेट निशुःल्क वितरण गरेसगै गाउँलेहरु सोलारको उज्यालोमा बस्न पाएका हुन् ।

किमालुङ ९८ प्रतिशत जनजाती बसोबास रहेको क्षेत्र हो । दाउरा र मट्टितेललाई उज्यालोको साहारा बनाउँदै आएका किमालुङबासीले सोलार पाएपछि बर्षाेदेखीको उज्यालो सपना पुरा भएको बताए ।

विपन्न परिवारमा सोलार सेट वितरणले उनिहरुको दैनिकीमा सहज भएको आरआरएन बहुसरोकारवाला बन कार्यक्रम भोजपुरका प्रमुख विनय साहले बताए । किमालुङसँगै यही कार्यक्रम अन्तरगत यी संस्थाले अन्नपूर्ण र चरम्बीका विपन्न परिवारलाई पनि सोलार सेट वितरण गरेको छ ।

अहिलेसम्म एक सय ७८ घरपरिवारलाई निशुःल्क सोलार सेट वितरण गरेको हिहल्र्ड नेपाल भोजपुरका अध्यक्ष शरणकुमार राईले बताए । संस्थाले अन्नपूर्ण गाविसका ३२ परिवारलाई र चरम्बी ४ को कुमालटारका ३३ गरीब परिवारलाई सोलार सेट वितरण गरेको हो । सोलार वितरणले उनिहरुको जीवनमा सुधार हुन थालेको अध्यक्ष राईको भनाई छ ।

वितरण गरिएको प्रतिसोलारको मूल्य छ हजार छ सय ५० रुपैयाँ पर्छ । किमालुङ गाविसमा सात लाख ५१ हजार चार सय ५० मूल्य बराबरको सोलर वितरण भएको हो । त्यस्तै अन्नपूर्णमा दुई लाख १२ हजार आठ सय र चरम्बीमा दुई लाख १९ हजार चार सय पचास रुपैयाँ मूल्य बराबरको सोलार वितरण भएको हो ।

वितरण गरिएको सोलारले विपन्न परिवारका घरमा उज्यालो छाएको छ । चरम्बी गाविसका अधिकांश ठाउँमा विजुली पत्ति पुगे पनि कुमालटारका गरीब कुमाल र माझी बस्तीमा विजुली पुग्न सकेको थिएन । हाम्रो टोलसम्म बत्ति ल्याउन कसैले सहयोग गरेनन् कुमालटारका पदम कुमालले भने सोलार पाएपछि यसको उज्यालोले घरको काम गर्न सजिलो भएको छ ।

सोलारको उज्यालोमा भात भान्छा देखी छोराछोरीको पढाईमा सहयोग पुगेको उनको भनाई छ । कुमालटार जिल्लाकै विकट र विपन्न ठाउँ हो । यहाँका स्थानीयको दैनिकी ढुंगे युगको जस्तै छ ।

बत्ति नपुगेका ठाउँका स्थानीयले सोलारको उज्यालोमा बस्न पाउनु राम्रो हो, भोजपुरका स्थानीय विकास अधिकारी भानुभक्त न्यौपाने भन्छन्, यसले शिक्षा, स्वास्थ्य जस्ता कुराको विकासमा सघाउ पुर्याउँछ ।

प्रकाशित मिति: ११ श्रावण २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्