संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित प्रमुख निर्वाचन आयुक्तविरुद्धका उजुरीमाथि छलफल हुने



काठमाडौं । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ ।

बैठक सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बिहान ११ः०० बजे बस्न लागेको हो ।

बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरुको सम्बन्धमा प्राप्त उजुरीका विषय, प्रस्तावित व्यक्तिहरुले पेस गरेको कार्ययोजना वितरण गर्ने सम्भावित कार्यसूची रहेको छ ।

समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की तथा आयुक्तद्वय राजीव सुब्बा र गुरुप्रसाद वाग्लेविरुद्ध उजुरी दिन असार २५ गतेदेखि १० दिनको समय दिएको थियो।

समितिकी सचिव सावित्रा शर्माका अनुसार सो अवधिमा एकवटा मात्र उजुरी परेको छ ।

आजको बैठकमा सोही उजुरी औपचारिक रूपमा खोलिने र सुनुवाइ प्रक्रियालाई अघि बढाइनेछ।

संवैधानिक परिषद्को असार १९ गते बसेको बैठकले निर्वाचन आयोगका रिक्त पदमा मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तथा राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेको थियो।

प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलबार