प्याउली घटनाका पीडित परिवार न्याय माग्दै राष्ट्रपतिकहाँ पुगे


 


काठमााडौं, भदौ २६
आफ्ना तीन छोराछोरीको हत्याको विषयलाई लिएर भोजपुरको प्याउली घटनाका पीडित परिवार राष्ट्रपतिकहाँ न्यायका लागि पुगेका छन् । आइतबार राष्ट्रपति कार्यालय शितल निवास पुगेर पीडित परिवारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर हत्यारा पत्ता लगाइदिन माग गरेका छन् ।

गत असार १० गतेबाट हराएका तीन बालबालिकाको असार १२ गते शव फेला परेको थियो । हत्या भएको यतिका समय वित्दा समेत घटनाको केही अत्तोपत्तो छैन ।

राष्ट्रपतिलाई घटनाको बारेमा अवगत गराउन पूर्व मन्त्री एंव भोजपुर क्षेत्र नं २ का सांसद शेरधन राई, सांसद जयन्ती राई, मृतक पीडित परिवारका चेतनाथ फुँयाल, रविन्द्र सापकोटा, जानुका सापकोटा, प्याउली घटना संघर्ष समितिका संयोजक राजकुमार खत्री लगायतको टोली शितल निवास पुगेको थियो ।

यो घटनामा राष्ट्रपतिले विशेष चासो दिदै आएकी थिइन । घटना दुःखद र पीडादायी भएको भन्दै राष्ट्रपतिले यस विषयमा आफूले पहिले पनि सरकारलाई भनेको र पुनः अवगत गराउने बताएकी थिइन ।

पीडित परिवार काठमाडौं आएर घटनाको सत्यतथ्य बाहिर ल्याउन गृह मन्त्रालय तथा राष्ट्रिय मानव अधिकार आयोग लगायतका ठाउँमा समेत पुगेका छन् । घटना घटेको ७४ दिनसम्म दोषी पत्ता नलाग्दा पीडित परिवार झन पीडित बनेको छ भने स्थानीय थप आक्रोशित बनेका छन् ।

गत असार १० गते अपरान्ह साढे ४ बजेबाट बेपत्ता भई १२ गते बिहान अरुण गाउँपालिका ३ मर्याङडाँडास्थित स्थानीय तोरण कार्कीको पोखरीमा चेतनाथ फुयाँलको १३ बर्षिया छोरी सुष्मा फुयाँल, ८ बर्षका छोरा प्रदिप फुयाँल र रविन्द्र सापकोटाको १४ बर्षिय छोरा रञ्जित सापकोटाको मृत अवस्थामा शव फेला परेको थियो ।

पीडित परिवारका अनुसार मृत अवस्थामा भेटिएको ठाउँमा मृतक बालबालिकाहरु कहिल्यै जाने गरेका थिएनन् । तीनवटै शव एकै प्रकृतिको भएको, नाकबाट आलो रगत बगेको र सबै शव घोप्टो पारी लाईन मिलाएर राखिएको अवस्थामा भेटिएको थियो ।

शवको पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । तर प्रायः पोष्टमार्टम भोजपुर अस्पतालमै हुने गरेको थियो ।

पीडित परिवारले घटनामा संलग्नलाई तुरुन्त कानूनी कठघरमा उभ्याई सार्वजनिक गर्नुपर्ने माग राख्दै आएका छन् । स्रोतका अनुसार नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी) को रिपोर्टमा बच्चाहरुले चुइगम खाँदा घाँटीमा अड्किएर मृत्यु भएको उल्लेख छ ।

यस्ता खाले रिपार्ट आउन थालेपछि पीडित परिवार थप पीडित भएका छन् भने घटना लुकाउन खोजिएको र यस्तो रिपोर्टमा कुनै सत्यता नरहेको भन्दै राष्ट्रपति समक्ष कानूनी कारबाहीका लागि निर्देशन दिन आग्रह गरेका छन् ।

प्रकाशित मिति: २६ भाद्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्