अबैध सञ्चालनमा रहेको बालगृह बन्द, ६ बालबालिकाको उद्धार



चितवन, असोज ३० ।

पूर्वी चितवनको रत्ननगरमा अवैधरूपमा सञ्चालनमा रहेको एक बालगृह आइतबार साँझ बन्द गराइएको छ ।
रत्ननगर नगरपालिका वडा नं १३ मा अवैधरूपमा सञ्चालनमा रहेको ड्रिम एञ्जल वल्र्ड नामक बालगृह बन्द गराउनाका साथै त्यहाँ रहेका छ बालबालिकालाई उद्धार गरिएको हो ।
जिल्ला बालकल्याण समितिका बाल संरक्षण अधिकृत महेश पौडेलका अनुसार उक्त बालगृह लामो समयदेखि बिनादर्ता र मापदण्ड विपरीत सञ्चालन हुँदै आएकाले पटक पटक बालगृह दर्ता गरी आवश्यक मापदण्ड पूरा गर्न सञ्चालकलाई पत्राचार गर्दासमेत अटेर गरेकाले बन्द गराइएको हो । सो बालगृहका सञ्चालक ठाकुर पनेरु फरार छन् ।
पत्रकार एवं स्थानीयवासीको रोहबरमा बालगृहबाट पाँच बालक र एक बालिकालाई उद्धार गरिएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार उद्धार गरिएका उनीहरुलाई काठमाडौँको पारिवारिक पुनर्मिलन गराउने संस्था हिमाली नवीन समाजमा पठाइएको छ ।
केन्द्रीय बालकल्याण समितिको सिफारिसमा ती बालबालिकालाई गएराति नै काठमाडौँस्थित उक्त समाजमा पठाइएको उहाँले बताउनुभयो । बालगृहमा रहेका बालबालिका जुम्ला, गोर्खा, दाङ, कास्की र चितवनका रहेका छन् । उनीहरु १० देखि १७ वर्षसम्मका रहेको उहाँले जानकारी दिनुभयो ।
बालगृहमा १८ बालबालिका रहे पनि अहिले दशैँ तिहारका लागि अन्य बालबालिका भने आफ्नै घर र आफन्तकामा गएकाले हाल त्यहाँ भेटिएका बालबालिकालाई मात्रै उद्धार गरिएको थियो । उक्त बालगृह बालबालिकाका लागि उचित र सुरक्षित वातावरणको समेत नदेखिएको आइतबार बसेको बाल कल्याण समितिको बैठकले तत्काल उद्धार गरी बन्द गराउने निर्णय गरेको थियो । ती बालबालिकाको पठनपाठनलाई निरन्तरता दिई परिवारसँग पुनर्मिलन गराउने बताइएको छ ।
जिल्लामा हाल ३० वटा बालगृह दर्ता भई सञ्चालनमा छन् । ती बालगृहमा ९४० बालबालिका रहेको उक्त समितिले जनाएको छ । दर्ता प्रक्रिया पूरा गर्न नसकेपछि केही बालगृह भने छात्रावासको नाममा सञ्चालनमा रहेको बालकल्याण अधिकृत पौडेलले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News