आमाले छाडिन्, बाबु जेल परे, दुई बालकको विचल्ली



प्रकाश धौलाकोटी
तेह्रथुम, कात्तिक १
जिल्लाको आठराई गाउँपालिका–४, इवाको सिमादुङ बस्तीका दश वर्षे निर्जल खपाङ्गी मगरलाई दुई वर्षको नहुँदै आठबर्षअघि आमाले छाडेर गइन् ।

त्यतिबेला पाँच वर्षका उनका दाजु निर्मल अहिले १३ वर्ष पुगेका छन् । आठबर्षअघि आमाले छाडेपछि यी दुई बालकको विचल्ली भएको छ । आमाको माया गुमाइसकेका उनीहरूलाई बुबा मानबहादुरले पनि समय दिन सकेनन् ।

आमाले छाडेपछि बाबुको पनि अवस्था नाजुक बन्यो । गरिबी र अशिक्षाले पिल्सिएको मानबहादुरको घरमा साँझ बिहान चुलो बाल्नै मुस्किल पर्याे ।

सँगसँगै काम गर्दै बनिबुतो गरेर दुई छाक हातमुख जोर्दै आएकी श्रीमतीले छाडेर अर्कैसँग गएपछि मानबहादुरले अत्यधिक मादक पदार्थ सेवन गर्न थाले । छोराहरूको हेरचाह पुगेन ।

दुवै छोराहरू सानैदेखि छरछिमेककै आडमा हुर्किए, डुल्ने घुम्ने बानी लाग्यो । श्रीमतीले छाडेपछि विरक्तिएका मानबहादुर पनि छोराहरूको असल अभिभावक बन्न सकेनन् ।

अन्ततः मानबहादुर पनि गत असारमा जबर्जस्ती करणीको आरोपमा जेल परे । त्यसयता दुई बालकको झनै विचल्ली भएको छ । उनीहरूको आफ्नो घर भएपनि त्यहाँ चुलो नबलेको बर्षाै बितेको छ ।

मानबहादुरको भागमा करिब तीन रोपनी जमिन रहेको भए पनि त्यो पनि अंशबण्डा भएको छैन । अहिले त्यो जमिनमा खेतीपाती लगाउने मान्छे पनि छैन ।

निर्मल र निर्जल तीन महिनादेखि विद्यालयमा नियमित छैनन् । स्थानीय जनता आधारभूत विद्यालयमा कक्षा–८ मा पढ्ने निर्मल र कक्षा–३ मा पढ्ने निर्जल दुवैको पढाइ लथालिङग छ ।

छिमेकीकहाँ बसेर पढ्न जाने गरेपनि उनीहरूको खाने, बस्ने र हिँड्ने कुनै ठेगान छैन । गाउँमा अहिले तिहारको रौनक छ । तर यी दाजुभाइलाई न त दशैँ नै आयो, न त तिहार नै ।

बाटोमै भेटिएका निर्मल भन्छन्, “आमाले छाडिन्, बुबा जेलमा छन्, हामीलाई न दशैँ आयो, न तिहार नै ।” बाबुआमा दुवै भएर पनि टुहुरा बनेका यी दुईको न त भोक मेटाइदिने बाबु छन्, न त रुन कराउन आमाको काख नै ।

विद्यालय जाने बेला यिनका हातमा कापी, किताब र झोला हुँदैन, न त लगाउने विद्यालय पोशाक नै हुन्छ ? कहिले भोकै विद्यालय पुग्छन्, कहिले कति बजे विद्यालय पुग्ने भन्ने नै थाहा हुँदैन उनीहरूलाई ।

सानो छँदाको कुरा सम्झिँदै निर्मल भन्छन्, “बुबाले मादक पदार्थ सेवन गरी आएर आमासँग झगडा गर्थें, पछि आमाले पनि छाडेर हिँडिन् ।”
आमाले छाडेर अर्कैसँग पोइला गएकी उनले बताए ।

आमाले छाडेपछि आफूहरू मामली पनि नगएको उनी बताउँछन् । आमा बाबुले छाडेपछि दुई बालकको विचल्ली भएको पूर्ववडाध्यक्ष गंगाप्रसाद इङनामले बताउनुभयो ।

“बाबुआमा नहुँदा बच्चाको कस्तो हालत् होला ? यिनीहरूको त्यस्तै हालत छ,” उहाँले भन्नुभयो । आफूले दुई बालकको हेरचाहका लागि उनका आफन्तसँग कुरा गरेपनि कसैले चासो नदिएको उहाँले बताउनुभयो ।

“यिनलाई कसैले वास्ता गरेनन्,” उहाँले भन्नुभयो, “त्यसैले छरछिमेकमै बसेर पढ त भनेका हौँ, तर भनेजस्तो कहाँ हुन्छ र ?”

दुई बालकको अवस्थाबारे सबैले चासो राखेका छन् तर कतैबाट पनि उनीहरूको उद्धारका लागि उल्लेख्य पहल नभएको छिमेकीहरूको भनाइ छ ।

“निर्मल र निर्जलका लागि कसैले सहयोग गरिदिए हुन्थ्यो,” छिमेकी कल्पना घिमिरेले भन्नुभयो, “दुवैजना सानै छन्, यो बेला पढ्न, लेख्न पाउनु उनीहरूको नैसर्गिक अधिकार नै हो, तर कसले गरिदिने त्यस्तो व्यवस्था ?”

साँझ बिहान जताततै हिँड्ने भएपछि बालकैमा कुलतमा फस्ने सम्भावना पनि रहेको स्थानीयवासीको चिन्ता छ । रासस/ तस्बिर नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
संस्थापक/ प्रधान–सम्पादक : ध्रुव सुवेदी
           
facebook
© 2018 Deshko News