देशमा अाज दिनभर के-के भयो ?


 


काठमाडौं, भदाै ७

संघीयताको प्रस्ताविक सीमांकनको विरोधमा आज देशभर प्रदर्शन र झडप भए । कैलालीको टीकापुरमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा ७ सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको पुष्टि भएको छ ।

नेपालगञ्जमा कर्फ्यू

नेपालगञ्जमा सोमबार राति ९ बजेदेखि मंगलबार विहान ९ बजेसम्म कर्फ्यू लगाइएको छ । प्रहरी र प्रदर्शनकारीबीचको झडपमा २०-२५ जना घाइते भएका छन् । घाइतेमध्ये धेरैजसो प्रहरी छन् ।

गौरमा कर्फ्यू

रौतहट सदरमुकाम गौरमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच सोमबार झडप भएपछि कर्फ्यू लगाइएको छ । गौर नगर क्षेत्रमा सोमबार साँझ ५ बजेदेखि मंगलबार विहान ५ बजेसम्म कर्फ्यू लगाएको हो ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन बन्दको दशौं दिन सोमबार सदरमुकाम गौरमा महिलाहरुले सांकेतिक तरवार जुलुस निकालेर नगर परिक्रमा गर्दा प्रहरीसँग झडप भएको थियो ।

दाङ दंगाग्रस्त क्षेत्र घोषणा

आदिवासी थारु समुदायको बाक्लो बस्ती रहेको दाङ जिल्लामा पनि स्थानीय प्रशासनले निषेधाज्ञा क्षेत्र घोषणा गरेको छ । सोमबार राति ८ बजेदेखि भदौ २२ गतेसम्मलाई निषेधाज्ञा जारी गरिएको हो ।

जिल्ला सुरक्षा समितिको सोमबार साँझ बसेको बैठकले दाङ सदरमुकाम घोराही, तुलसीपुर, लमही, भालुबाङ, गढवा लगायतका बजार क्षेत्रमा निषेधाज्ञा घोषणा गरेको छ ।

भैरहवामा ९ गतेसम्म निषेधाज्ञा

रुपन्देहीमा मधेसी मोर्चा र थरुहटले संयुक्त रुपमा जारी राखेको आन्दोलन नियन्त्रण बाहिर गएपछि स्थानीय प्रशासनले भैरहवा नगरपालिका क्षेत्रमा यही भदौ ५ गतेदेखि लगाएको निषेधाज्ञा ९ गतेसम्मलाई कायम राखेको छ ।

पूर्वमा बसन्तपुर गाविस, वाईपास सडक, पश्चिममा गौतमबुद्ध बिमानस्थलको मायादेवी पार्क, उत्तरमा पडसरी र दक्षिणमा बेलहीया, भारत सीमानाको चौकीलासम्म निषेधित क्षेत्र तोकिएको छ ।

रुकुममा निषेधाज्ञा

अखण्ड रुकुमको माग गर्दै सदरमुकाम खलंगामा जारी आन्दोलन नियन्त्रण बाहिर जान थालेपछि स्थानीय प्रशासनले आइतबारदेखि लगाएको निषेधाज्ञा सोमबार पनि जारी राखेको छ ।

रुकुमलाई टुक्राएर पश्चिम भागलाई ६ नम्बर प्रदेशमा र पूर्वी भागलाई ५ नम्बर प्रदेशमा राखिएको विरोधमा एकीकृत रुकुम संघर्ष समितिको अगुवाइमा आन्दोलन चर्किएको छ । प्रदेशको सीमांकन गर्दा रुकुमलाई टुक्राइएको विरोधमा १६ औं दिनदेखि आन्दोलनरत रुकुमेलीहरुले सदरमुकामलाई नाकावन्दी गरी तरकारी र दूध पठाउन बन्द गरेका छन् ।

सर्लाहीमा शान्तिपूर्ण आन्दोलन

सर्लाहीमा शान्तिपूर्ण आन्दोलन जारी छ । जिल्लामा प्रदर्शन जारी रहे पनि बल प्रयोग गर्नुपरेको छैन ।

प्रकाशित मिति: ७ भाद्र २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्