गृहमन्त्री बनेका रामबहादुर थापा ‘बादल’ को हुन् ?


 


मिथकीय पात्रदेखि रक्षा–गृहमन्त्रीसम्म
रमेश लम्साल
काठमाडौँ, फागुन १४
तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको ‘जनयुद्ध’का मिथकीय पात्र बादल दोस्रो पटक महत्वपूर्ण मन्त्रीका रुपमा सिंहदरबार प्रवेश गर्नुभएको छ

पछिल्ला दिनमा गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्न माओवादी केन्द्रका विभिन्न नेताले चासो देखाएको र विवाद भएको भन्ने चर्चा चलिरहँदा आज मात्रै सो पार्टीका अध्यक्ष दाहालले नेता थापाको नेतृत्वमा माओवादी सरकारमा सहभागी हुने जनाउँदै प्रधानमन्त्री ओलीलाई गृहमन्त्रीका रुपमा थापासहितको नामावली बुझाउनुभएको थियो ।

बादल अर्थात् रामबहादुर थापा पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको सरकारमा रक्षामन्त्री हुनुहुन्थ्यो । संविधानसभाको पहिलो निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट निर्वाचित थापा पछिल्लो पटक राष्ट्रियसभा सदस्य हुँदै मुलुकको शान्ति सुरक्षाको नेतृत्व गर्ने तहमा आइपुग्नुभएको छ ।

नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)को सहकार्य र पार्टी एकताको समेत सेतुका रुपमा परिचित थापा राजनीतिक रुपमा इमान्दार र पार्टी राजनीतिमा सधैँ संगठन विभागको नेतृत्वमा रहँदै आउनुभयो ।

जनयुद्धकालदेखि शान्तिप्रक्रियामा सहभागी हुँदा समेत उहाँलाई माओवादी केन्द्रका अध्यक्ष दाहालका सहपाठी र सहयोगीका रुपमा भूमिका निर्वाह गर्दै आएको ‘इमान्दार’ पात्रका रुपमा लिइन्छ ।

पछिल्लो पटक पार्टी एकता र वाम एकताका लागि नेता थापाले खेलेको भूमिकाका कारण पनि उहाँलाई केपी शर्मा ओली नेतृत्वको सरकारमा गृह मन्त्रालयको जिम्मेवारी दिइएको बताउने गरिएको छ ।

पिता कर्णबहादुर र माता नन्दकुमारीका जेठा छोराका रुपमा २०१२ साल वैशाख १९ गते गुल्मीमा जन्मनुभएका थापाले रामपुर कृषि क्याम्पसबाट बिएस्सीएजी गर्नुभएको छ ।

विसं २०३१ मा रामपुर कृषि क्याम्पसमा माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भेट भएपछि शुरु भएको सहकार्य आजसम्म निरन्तर छ ।

माक्र्सवादी अध्ययन समूह बनाएर नेपाली कम्युनिष्ट आन्दोलनमा लाग्नुभएका नेता थापालाई हालका माओवादी केन्द्रका नेता अमिक शेरचनले कम्युनिष्ट पार्टीको सदस्यता दिनुभएको थियो ।

विसं २०४२ मा नेकपा(मशाल)को केन्द्रीय सदस्य बन्नुभएका थापा माओवादीले सञ्चालन गरेको जनयुद्धका क्रममा एक मिथकीय पात्रका रुपमा परिचित हुनुहुन्थ्यो ।

अध्यक्ष दाहालसँग असहमति जनाउँदै मोहन वैद्यको नेतृत्वमा तत्कालीन माओवादी फुटाएर नयाँ पार्टी बनाउनुभएका नेता थापा २०७२ सालमा बृहत् वाम एकताको अवधारणासहित पार्टी एकतामा समाहित हुनुभयो ।

बृहत् वाम एकता र सहकार्यलाई अगाडि बढाउनुपर्छ भन्ने धारणा राख्दै आउनुभएका नेता थापा पछिल्लो पटक एमाले र माओवादी केन्द्रको एकताको एक सूत्राधारका रुपमा परिचित हुनुहुन्छ ।

पछिल्लो पटक प्रदेश नं ३ बाट राष्ट्रियसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट निर्वाचित थापा माओवादी केन्द्रको केन्द्रीय कार्यालय सदस्य हुनुहुन्छ ।

विगतमा माओवादीको महासचिव, संगठन विभाग प्रमुख र सैन्य कमाण्डरका रुपमा समेत उहाँले जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।

शान्ति सुरक्षाको जिम्मेवारी सम्हाल्ने गृहमन्त्रीका रुपमा दोस्रो पटक सिंहदरबार प्रवेश गर्नुभएका नेता थापाले जनताको अपेक्षानुसार शान्ति सुरक्षा प्रदान गर्ने र सुरक्षा निकायलाई जनताप्रति जवाफदेही बनाउने बताउनुभएको छ ।

प्रकाशित मिति: १४ फाल्गुन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्