असोजदेखि नेपाली भूमिमा रेल कुद्ने


 


काठमाडौं, फागुन २७
नेपाली भूमिमा आगामी असोजदेखि पुनः रेल कुद्ने भएको छ। चार वर्ष अघिसम्म सञ्चालनमा रहेको जयनगर–जनकपुर रेल बन्द भए पनि भारत सरकारले नै पुनः नेपाली भूमिमा रेल कुदाउने भएको छ।

न्यारोगेजमा सञ्चालन हुने पुरानो रेलमार्गको ५२ किमिलाई सुधार गरेर अहिले तत्काललाई ३५ किमिमा ब्रोडगेजको रेल सञ्चालन गर्ने गरी काम भइरहेको छ। यसलाई ७० किमिको दूरीमा सञ्चालन गर्ने गरी काम अघि बढाइएको रेल विभागले जानकारी दिएको छ। अन्नपूर्णमा खबर छ ।

भारत सरकारको सहयोगमा निर्माणाधीन जनकपुर–जयनगर–बर्दिवास खण्डको जयनगर–जनकपुर–बिजलापुरसम्मको ५२ किमिखण्डको पुरानो रेल लिकलाई सुधार गर्ने काम हाल ८० प्रतिशत सकिएको छ। यस खण्डमा आगामी असोजसम्ममा रेलमार्ग निर्माण सकिने र भारतले नै रेल कुदाउने रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले जानकारी दिए।

उनका अनुसार भारतले बर्दिवासदेखि विजलापुरसम्मको जम्मा ७० किमि दूरीमा रेलमार्ग बनाउँदै छ। यसमध्ये २०७५ को असोजसम्ममा ३५ किमि पूर्ण रूपमा तयार हुनेछ। बाँकी ३५ किमिका लागि भने नेपाली भूमितर्फ जग्गा अधिग्रहणकै काम बाँकी छ।

यो खण्ड तयार हुन समय लाग्ने भएकाले असोजसम्ममा रेल दौडाउन मिल्ने गरी तयार हुने ३५ किमि रेलमार्ग रेल कुदाँउने गरी आवश्यक प्रक्रिया अगाडि बढिरहेको रेल विभागले जानकारी दिएको छ।

प्रकाशित मिति: २७ फाल्गुन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्