धरै सन्तान जन्माउनेलाई नगरको प्रोत्साहन !


 


इलाम, चैत २
जनसंख्या बढी भए गरिबी, भोकमरी, अशिक्षाजस्ता दर्जनौं कठिनाई हुने गरेको त हामी सबैले सुनेकै हौं । तर, जसले धेरै सन्तान जन्माउँछ, उसलाई बढी सुविधा दिने ‘अफर’ इलाम नगरपालिकाले ल्याएको छ ।

जनसंख्या वृद्धिदर कम भएर ‘चिन्ता’मा परेको नगरपालिकाले चैत १ (बिहीबार) देखि लागू हुनेगरी बढी सन्तान जन्माउने प्रसूतिलाई नै बढी सेवा–सुविधा दिने कार्यक्रम लागू गरेको छ । नागरिकमा खबर छ ।

केही दिनअघि बसेको नगर कार्यपालिका बैठकले साविकको प्रसूति पोषण सुविधा परिमार्जन गर्दै जति धेरै सन्तान, उति बढी पोषण सुविधा दिन निर्णय गरेको थियो, त्यो पनि नगदमै।

सुत्केरीलाई २ वटासम्म बच्चा जन्माए २ हजार, ३ बच्चा जन्माए ३ हजार र ५ वटा तथा त्यसभन्दा बढी संख्यामा बच्चा जन्माए ५ हजार रुपैयाँ दिने निर्णय नगरले गरेको छ ।

२० वर्षअघि नगरपालिकाले नगरका प्रसूति महिलालाई नगद नभई घिउ, कपडा, ज्वानोलगायत दिने निर्णय गरी कार्यान्वयनमा ल्याएको थियो । अब भने प्रसूति महिलाले नगद नै पाउने छन् ।

प्रत्येक बच्चा जन्मिँदा सुत्केरी महिलाका पतिलाई हरेक पटक १५ दिन कामबाट बिदा दिने, बच्चा जन्माउन सहज गराउने उद्देश्यले नगर क्षेत्रभित्र जागिर वा नोकरीमा रहेका पति–पत्नीलाई अलग स्थानमा भए एकैठाउँ सरुवा मिलाइदिनेसम्मको निर्णय नगरपालिकाले गरेको हो।

नगरपालिकाका मेयर महेश बस्नेतले नगरको जनसंख्या वृद्धिदर ज्यादै कम भएकाले दम्पतीलाई सन्तानोत्पादनमा प्रोत्साह गर्न लागिएको बताए ।

प्रकाशित मिति: २ चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्