अन्तिममा आएर सरकारमा किन गएन फोरम ? यस्तो छ भित्री कारण


 


काठमाडौं, चैत ३
एमाले नेतृत्वको सरकारमा सहभागी हुने अन्तिम कसरतमा रहेको संघीय समाजवादी फोरम नेपाल शुक्रबार विस्तार भएको मन्त्रिपरिषद्मा सामेल हुन सकेन ।

पार्टीभित्र मन्त्री बन्ने नेताहरूको नाममा सहमति जुट्न नसक्दा फोरम एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा शुक्रबार सहभागी हुन नसकेको हो । नागरिकमा खबर छ ।

स्रोतका अनुसार पार्टीबाट सरकारमा पठाउन लागिएका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको नाममा पार्टीका अधिकांश नेताले चर्को विमति जनाएपछि अलमलमा परेका अध्यक्ष उपेन्द्र यादवले शुक्रबारसरकारमा जाने पार्टी नेताका नाम सिफारिस गर्न सकेनन् ।

सरकारमा पार्टीको नेतृत्व अध्यक्ष यादवले गर्नुपर्नेमा भने नेताहरू सहमत छन् । फोरमका नेताहरूले भने प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीसँग संविधान संशोधनमा लिखित सहमति नभएकाले पार्टी सरकारमा नगएको दाबी गरेका छन् ।

मन्त्रालय बाँडफाँटमा पनि प्रधानमन्त्री र यादवबीच सहमति जुट्न सकेन । यादवले भौतिक पूर्वाधार,शिक्षा र स्वास्थ्य मन्त्रालय मागेका छन् । तर, प्रधानमन्त्रीले फोरमलाई सहरी विकास र सिँचाइ मन्त्रालय दिन चाहेका छन् ।

फोरमका महासचिव रामसहाय यादवले प्रधानमन्त्री र आफ्नो पार्टीबीच शुक्रबार संविधान संशोधनमा लिखित सहमति नभएकालेसरकारमा नगएको बताए ।

प्रकाशित मिति: ३ चैत्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्