कांग्रेसको निर्वाचन समीक्षा, यस्तो छ पराजय भोग्नुको कारण


 


काठमाडौं, चैत ४
नेपाली कांग्रेसका जिल्ला समितिहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको मुख्य कारण आन्तरिक गुटबन्दी भएको ठहर गरेका छन्।

निर्वाचनमा पराजयको कारणसहितको प्रतिवेदन पठाउन केन्द्रीय समितिको निर्देशनपछि समीक्षामा जुटेका जिल्ला समितिहरूले केन्द्रदेखि गाउँ तहसम्मको चरम गुटबन्दी नै पराजयको मुख्य कारण भएको निष्कर्ष निकालेका हुन्। नागरिकमा खबर छ ।

पार्टीभित्र गुटबन्दी संस्थागत हुँदा एउटा पक्षले अर्कोलाई असहयोग गरेका कारण निर्वाचनमा नराम्रो हार भोग्नुपरेको बुझाइ जिल्ला समितिहरूको छ। आन्तरिक एकता मजबुत बनाउन नसके पार्टी अझै कमजोर हुनसक्ने जिल्ला नेतृत्व तहको निष्कर्ष छ।

तीन निर्वाचन क्षेत्र रहेको दाङमा सबै क्षेत्र गुमाएको कांग्रेसमा नेता खुमबहादुर खड्का र त्यसइतरका नेताबीच तीव्र धु्रवीकरण छ। यसअघि खड्का विरोधी लाइनको नेतृत्व बलदेव शर्मा मजगैंयाले गर्थे भने अहिले दीपक गिरीले गरेका छन्।

पार्टीका दुई प्रभावशाली नेता पूर्णबहादुर खड्का र हृदयराम थानीको गृहजिल्ला सुर्खेतमा पनि चर्को गुटबन्दी छ। सुर्खे जिल्ला सभापति कमलराज जोशीले केन्द्रीयस्तरमा पुगेका नेताहरू एकअर्काको कार्यक्रममा नजाँदा चुनावी नतिजा अनपेक्षित आएको बताए।

पार्टी केन्द्रीय सदस्यद्वय खड्का र थानी सुर्खेतका दुई निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवार थिए। दुई नेताबीचको सम्बन्ध सुमधुर छैन। यसैकारण उनीहरू दुवैले चुनाव हारे।

प्रकाशित मिति: ४ चैत्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्