खेर जाने भयो काजको ‘घुस’, हाकिमको ‘अतिरिक्त रकम’ के गर्ने ?


 


काठमाडौं, चैत ५
सरकारले निजामती कर्मचारीलाई प्रदेश र स्थानीय तहमा जान कडाइ गरेसँगै गत असोज–कात्तिकमा हाकिमलाई ‘अतिरिक्त रकम’ दिएर काज फिर्ता गर्न सफल कर्मचारीको हकमा के हुने भन्ने प्रश्न उब्जिएको छ।

तत्कालीन सामान्य प्रशासन मन्त्रालयले गत भदौ अन्तिम साता एक हजार ६ सय जनाभन्दा बढी विभिन्न श्रेणीका कर्मचारीलाई स्थानीय तहमा काज सरुवा गरेको थियो।

तर तत्कालीन सचिव मोहनकृष्ण सापकोटा, मन्त्रालयका केही सहसचिव र कांग्रेस निकट कर्मचारी युनियनका केही उच्च पदस्थ पदाधिकारीलाई खुसी पारेर करिब पाँच सय कर्मचारी आफ्नै कार्यालयमा काज फिर्ता गर्न सफल भएका थिए।

सामान्य प्रशासन मन्त्रालयका एक उच्च अधिकारीका अनुसार मालपोत, यातायात, वैदेशिक रोजगार र यस्तै अन्य कमाउ अड्डाका कर्मचारीले १० लाख रुपैयाँसम्म घुस दिएर काज फिर्ता गराएका थिए।

ती अधिकारीका अनुसार मन्त्रालयको प्रशासन शाखामा कार्यरत कर्मचारीको एउटा समूहले जथाभाबी रुपमा काज सरुवाको निर्णय गराएको थियो।

यस्तो निर्णयप्रति दीर्घरोगी, अशक्तलगायत कर्मचारीले गुनासो गरेपछि उनीहरुलाई काज फिर्ता गर्ने भन्दै निवेदन माग गरिएको थियो। तर काज फिर्तामा घुस ख्वाउने अड्डाका कर्मचारी परेको ती अधिकारीले जानकारी दिए। नागरिकमा खबर छ ।

मालपोत कार्यालय डिल्लीबजारका एक कर्मचारीले काज फिर्ता गर्न १० लाख रुपैयाँ घुस दिएको ती अधिकारीले दाबी गरे। यातायात र वैदेशिक रोजगार विभागका अरू कर्मचारीले पनि ठूलो रकम घुस दिएर काज फिर्ता गराउन सफल भएका थिए ।

प्रकाशित मिति: ५ चैत्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्