कांग्रेसमा गुट हेरफेर, कुन नेता कुन गुटमा ? (सूचीसहित)


 


काठमाडौं, चैत ५
नेपाली कांग्रेसका नेताहरू प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि फेरि गुट अदलबदलमा सक्रिय छन् ।

आन्तरिक गुटबन्दीकै कारण कांग्रेस निर्वाचनमा पराजित भएको नेताहरूले स्वीकारे पनि व्यवहार भने त्यसको उल्टो देखिन्छ ।

पार्टीभित्र एक नेताले अर्कोलाई निरीह र आफूलाई शक्तिशाली देखाउन गुट/समूह बनाउने र भत्काउने खेल कांग्रेसमा पुरानै हो । निर्वाचनमा पराजयपछि पार्टीमा यो खेलले अलि बढ्तै ठाउँ पाएको देखिन्छ।

नेताहरूले गुट अदलबदल गर्दा शेरबहादुर देउवा र रामचन्द्र पौडेल कित्तामा मात्र होइन १३औं महाधिवेशनसँगै अस्तित्वमा आएको कृष्णप्रसाद सिटौला समूहमासमेत हलचल आएको छ ।

महाधिवेशन भएको दुई वर्षमा सभापति शेरबहादुर देउवा गुटबाट अर्जुननरसिंह केसी, कुलबहादुर गुरुङ र चन्द्र भण्डारी अलग्गिएका छन् ।

केसी १३औं महाधिवेशनमा देउवा गुटबाट महामन्त्रीका उम्मेदवार थिए । भण्डारी पनि देउवा गुटबाटै केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

यसैगरी पौडेल र सिटौला समूह पनि एकपछि अर्को गर्दै कमजोर बन्न पुगेका छन् । अन्य गुट र समूह कमजोर बन्दै जाँदा देउवाले नेतृत्व गरेको गुट बलियो बन्दै गएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन परिणामलाई लिएर सभापति देउवामाथि विरोधी गुट र समूहले नेतृत्व छाड्न दबाब बढाइरहेका बेला त्यहाँबाट अलग्गिएका केसी पौडेल र सिटौलालाई मिलाउन सक्रिय छन् ।

जब कि १३औं महाधिवेशनमा यी दुई नेता पौडेल र सिटौला एकअर्कालाई स्वीकार गर्नै नसक्ने अवस्थामा थिए ।

पाँच नम्बर प्रदेशको सीमांकन हेरफेर गर्ने पार्टी निर्णयको विपक्षमा उभिएपछि पाखा परेका भण्डारी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पार्टी सभापति देउवा नेतृत्वको सरकारमा मन्त्री बन्न नपाएपछि रुष्ट थिए ।

भण्डारीले गुल्मी १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा हार बेहोरेपछि सभापति देउवा विरोधी केही युवा केन्द्रीय सदस्यको अगुवाइ गर्दै आएका छन् । त्यसमा गगन थापा, धनराज गुरुङ, प्रदीप पौडेल, गुरुराज घिमिरेसहितका केन्द्रीय सदस्य छन् । ‘

तत्कालीन सभापति सुशील कोइरालाले मन्त्री नबनाएपछि भण्डारी देउवा गुट छिरेका थिए । महाधिवेशनको संघारमा देउवा गुटमा मिसिएका गुरुङ अहिले त्यहाँ छैनन् ।

१३औं महाधिवेशनमा सभापति, महामन्त्री, कोषाध्यक्षसहित ६४ पदका लागि भएको प्रतिस्पर्धामा देउवा पक्षले सभापतिसहित ३७ पद जितेको थियो ।

देउवा गुटबाट खुमबहादुर खड्का, विमलेन्द्र निधि, प्रदीप गिरी, बालकृष्ण खाँण, रमेश लेखक, पूर्णबहादुर खड्का, विश्वप्रकाश शर्मा, एनपी साउद, चन्द्र भण्डारी, ज्ञानेन्द्रबहादुर कार्की, गोपालमान श्रेष्ठ, शंकर भण्डारी, प्रकाशशरण महत, भीष्मराज आङ्देम्बे, रमेश रिजाल, मोहनबहादुर बस्नेत विजयी भएका हुन् ।

त्यस्तै, देवेन्द्रराज कँडेल, जीवनबहादुर शाही, बीरबहादुर बलायर, डिला संग्रौला, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, अम्बिका बस्नेत, बहादुर लामा, सीता गुरुङ, रत्ना शेरचन, मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा, सुजाता परियार, लक्ष्मी परियार, अजय चौरसिया, महेन्द्र यादव, फरमुल्ला मन्सुर र पार्वता डिसी चौधरी पनि देउवा पक्षबाट विजयी हुन् ।

गुटहरुको महासंघ जस्तो देखिने पौडेल समूहमा साझा नेताको अभाव देखिएको छ । एकले अर्कालाई नेता मान्नेभन्दा पनि आफैं नेता बन्न सबै सक्रिय हुँदा महाधिवेशन भएको दुई वर्षमा पौडेल पक्षका आधा दर्जन केन्द्रीय सदस्य देउवा समूहमा पुगेका छन् ।

१३औं महाधिवेशनमा पौडेल समूहबाट महामन्त्री, कोषाध्यक्षसहित २७ जना केन्द्रीय समितिमा पुगेका थिए ।

तर, संसदीय दलको पछिल्लो निर्वाचनसम्म आइपुग्दा चिनकाजी श्रेष्ठ, नारायण खड्का, मीनेन्द्र रिजालसहित पौडेल समूहबाट अलग्गिएको निकट नेताहरुको दाबी छ।

प्रकाशित मिति: ५ चैत्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्