साउदी दूतावासको फ्ल्याटमा नेपाली युवतीको सामूहिक बलात्कार


 


नयाँ दिल्ली, भदाै २३balatrka flat

साउदी अरेबियाको भारतस्थित दूतावासले लिएको एक फ्ल्याटमा बन्धक बनाई दुई नेपाली महिलाको बलात्कार हुँदै आएको खुलासा भएको छ। एक गैर सरकारी संस्थाको सहयोगमा हरियाना पुलिसले गएराति महिलाहरुकाे उद्धार गरेहो हो ।

साउदीका नाम नखुलाइएका अधिकारी र उनका केही साथीहरुले दूतावासले भाडामा लिएको फ्ल्याटमा नेपाली युवतीमाथि बलात्कार गर्दै आएको पीडितहरुले बयान दिएका छन्। ती अधिकारीका पत्नी र छोरीले युवतीहरुलाई यातना दिने गरेकोसमेत उजुरी परेको छ। यौन हिंसामा पर्नेमा २० वर्षीया युवती र उनकी ४० वर्षीया आमा रहेका छन्।

दी हिन्दुका अनुसार उनीहरुलाई गुडगाउँमा तीन महिना राखिएको थियो र त्यहाँबाट जेद्दाह लगिएको थियो। त्यहाँ साउदी डिप्लोम्याटका पाहुनाका अगाडि उनीहरुलाई अप्राकृतिक यौनकार्य गर्न लगाइएको थियो।

कसरी भेटिए पीडित ?

गुडगाउँको एउटा अपार्टमेन्टको पाँचौ तल्लाबाट उनीहरुको उद्दार गरिएको हो। भारतमा रहेको नेपाली राजदूतावासका साथै गैर सरकारी संस्था माइती इन्डिया र प्रहरीको सहयोगमा उनीहरुको उद्दार गरिएको समाचार संस्था आइएएनएसले जनाएको छ।

‘कतिपय दिन त सातदेखि आठ जना साउदी अरेबियाका मानिसले हामीलाई दुर्व्यवहार गर्थे। हामीले प्रतिरोध गर्‍यौं भने हामीलाई मार्ने र लाश गायब पार्ने धम्की उनीहरुको परिवारका सदस्यले दिने गर्थे,’ पीडित युवतीलाई उदृत गर्दै इन्डियन एक्सप्रेसले जनाएको छ।

दुईमध्ये एक साउदी डिप्लोम्याटको घरबाट भाग्न सफल भएपछि उनीहरुमाथि लगातार बलात्कार भइरहेको तथ्य बाहिर आएको हो। पीडितहरुलाई घर फर्काउन तयारी भएको भए पनि दोषी फेला पार्न सकिएको छैन।

त्यहाँबाट उद्दार भएका युवतीले खानसमेत राम्ररी नपाएको सुनाएका छन्। ६ महिना अघि राम्रो तलब पाउने आशामा उनीहरु घर छाडेर आएका थिए।

उनीहरुलाई दलालहरुले एकपछि अर्को ठाउँमा बेच्दै साउदी डिप्लोम्याटसम्म पुर्‍याएका थिए। साउदी डिप्लोम्याटलाई उनीहरुले ‘माजिद’ भनेर चिन्छन्।
के न्याय पाउँछन् नेपाली युवतीले ?

दी इन्डियन एक्सप्रेसका अनुसार उनीहरुलाई दिनभरि घरेलु काममा लगाउँथे। र राति उनीहरुमाथि यौन दुर्व्यवहार हुने गर्थ्यो। उनीहरुलाई घरबाहिर पाइला राख्ने इजाजतसमेत दिइएको थिएन। प्रहरीले नाम नखुलेका व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ।

सामूहिक बलात्कारको अभियोगमा उनीहरुविरुद्ध भारतीय कानुनअनुसार मुद्दा दायर भएको छ तर कसैलाई पनि गिरफ्तारी गर्न सकेको छैन। प्रहरीले नेपाली युवतीलाई न्याय दिलाउन त्यहाँको परराष्ट्र मन्त्रालयमार्फत् पहल सुरु गरेको जनाएको छ।

तर साउदी अरेबिया सरकारले सहयोग नगर्ने हो भने उनीहरुमाथि न्याय हुने सम्भावना क्षीण छ। यता साउदी अरेवियाको दूतावासले घटनाको खण्डन गरेको छ। व्यक्तिगत लान्छना लगाउने प्रयास भएकोसमेत दूतावासले दावी गरेको छ।

पहिलोपोष्टबाट

प्रकाशित मिति: २३ भाद्र २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्