पाँच महिना लामो अमेरिका–इरान युद्ध हुँदासमेत किन बढेन प्रक्षेपणअनुसार इन्धनको मूल्य ?
न्यूयोर्क । अमेरिका र इजरायलले फेब्रुअरीको अन्त्यतिर इरानसँग युद्ध सुरु गर्दा धेरै विश्लेषकहरूले कच्चा तेलको मूल्य प्रति ब्यारेल १५० डलरदेखि २०० डलरसम्म पुग्न सक्ने प्रक्षेपणअनुसार गरेका थिए । यसको मुख्य कारण विश्व बजारमा खपत हुने झन्डै २० प्रतिशत तेल आपूर्ति हुने स्ट्रेट अफ होर्मुज बन्द हुने आशंका थियो ।
तर वास्तविकता फरक रह्यो । ब्रेन्ट कच्चा तेलको मूल्य अधिकतम करिब १२६ डलर प्रतिब्यारेलसम्म मात्रै पुग्यो, जुन सन् २००८ को १४७ डलरको ऐतिहासिक उच्च मूल्यभन्दा निकै कम थियो । युद्ध सुरु भएको फेब्रुअरी २८ देखि जुन ११ सम्म औसत मूल्य करिब १०१ डलर प्रतिब्यारेल रह्यो । त्यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिका आक्रमण रोक्ने घोषणा गरेपछि जुलाईको सुरुतिर मूल्य घटेर करिब ७० डलर प्रतिब्यारेलसम्म पुगेको थियो ।
तेलको मूल्य अपेक्षाअनुसार अत्यधिक नबढ्नुका मुख्य कारणहरू यस्ता छन्ः
१. चीनमा तेल माग अप्रत्याशित रूपमा घट्नु
विश्वकै सबैभन्दा ठूलो तेल आयातकर्ता चीनले जुनसम्म आइपुग्दा करिब एक दशकयताकै न्यून स्तरमा कच्चा तेल आयात गर्यो । चीनले इन्धन निर्यात घटायो, सर्वसाधारणले निजी गाडीभन्दा विद्युतीय ट्याक्सी बढी प्रयोग गर्न थाले र पेट्रोकेमिकल उद्योगले पनि कच्चा तेलको खपत कम गर्यो । यसले विश्व बजारमा तेलको माग घटाएर मूल्यमाथिको दबाब कम गरिदियो ।
२. अमेरिकाले तेल उत्पादन बढ्नु
विश्वकै सबैभन्दा ठूलो तेल उत्पादक अमेरिकाले अप्रिलसम्म दैनिक करिब एक करोड ३९ लाख ३० हजार ब्यारेल तेल उत्पादन गर्दै नयाँ कीर्तिमान कायम गर्यो । यसका साथै अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीसँगको समन्वयमा अमेरिकाले आफ्नो रणनीतिक पेट्रोलियम भण्डारबाट ठूलो परिमाणमा कच्चा तेल बजारमा छोड्यो। यसले युद्धका कारण उत्पन्न हुन सक्ने आपूर्ति अभावलाई धेरै हदसम्म कम गरिदियो ।
३. ट्रम्पका अभिव्यक्तिले बजारलाई शान्त राख्नु
राष्ट्रपति डोनाल्ड ट्रम्पले पटक–पटक शान्ति सम्झौता हुन सक्ने र स्ट्रेट अफ होर्मुज हुँदै तेल आपूर्ति पुनः सुरु हुने संकेत दिए । यसका कारण बजारमा ठूलो मूल्यवृद्धिको अपेक्षा गरेर लगानी गर्ने व्यापारीहरू सतर्क बने । धेरैले जोखिमपूर्ण लगानी नगरेकाले तेलको मूल्य तीव्र रूपमा बढ्न पाएन । विश्लेषकहरूका अनुसार बजार अहिले युद्धसम्बन्धी समाचारप्रति केही हदसम्म अभ्यस्त भइसकेको छ । नयाँ समाचार आउँदा पहिलेजस्तो ठूलो प्रतिक्रिया देखिन छाडेको छ ।
४. स्ट्रेट अफ होर्मुजबाट तेल आपूर्ति केही समय पुनः सुरु हुनु
खाडी क्षेत्रको सबैभन्दा ठूलो तेल निर्यातकर्ता साउदी अरेबियाले रातो सागरस्थित यान्बु बन्दरगाहबाट तेल निर्यात उल्लेखनीय रूपमा बढायो । यससँगै जुन महिनामा स्ट्रेट अफ होर्मुज हुँदै पनि केही समयका लागि जहाज आवतजावत र तेल आपूर्ति पुनः सुरु भयो । यसले बजारमा तेल अभावको डर कम गर्यो, यद्यपि जुलाईमा युद्ध फेरि चर्किएपछि आपूर्ति पुनः घट्न थालेको थियो ।
५. तत्काल बिक्रीका लागि पर्याप्त तेल उपलब्ध हुनु
व्यापारीहरूका अनुसार हाल विश्व बजारमा तत्काल आपूर्ति गर्न सकिने कच्चा तेल पर्याप्त मात्रामा उपलब्ध छ । यही कारण युद्ध चर्किए पनि बजारमा तत्काल तेल अभाव देखिएन र मूल्यमा ठूलो उछाल आएन । यद्यपि अनुभवी व्यापारीहरूले अहिले पर्याप्त तेल उपलब्ध भए पनि यो अवस्था लामो समयसम्म नटिक्न सक्ने चेतावनी दिएका छन् । युद्ध अझै लम्बियो वा स्ट्रेट अफ होर्मुज लामो समयका लागि बन्द भयो भने तेलको मूल्य फेरि तीव्र रूपमा बढ्न सक्ने सम्भावना रहेको उनीहरूको भनाइ छ ।
प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलबार







