असोज १० भित्र प्रधानमन्त्री, कात्तिक ३ भित्र नयाँ राष्ट्रपति


 


president. pm n speakerकाठमाडौं, भदाै २९

आगामी असोज १० गतेभित्र मुलुकले नयाँ प्रधानमन्त्री पाउने भएको छ । कात्तिक ३ गतेभित्र वर्तमान राष्ट्रपति डा. रामवरण यादवको विदाइ र नयाँ राष्ट्रपति पनि चयन हुनेछ ।

संविधानसभाले असोज ३ गते साँझ ५ बजे संविधान घोषणा गर्ने समय तय गरेको छ । यससँगै सभामुखदेखि प्रधानमन्त्री र राष्ट्रपतिको पनि निर्वाचनको प्रारम्भिक मिति अनुमान गर्न सकिन्छ ।

अहिले पारित हुँदै गरेको नयाँ संविधानको भाग ३५ मा संक्रमणकालीन व्यवस्था छ । जसमा धारा २९२ मा नयाँ संविधान जारी भएको बेला संसद अधिवेशन चलिरहेको भए सात ७ दिनभित्र नयाँ प्रधानमन्त्री चयन गरिसक्नुपर्ने व्यवस्था छ ।

अहिले संसदको अधिवेशन चलिरहेको छ र यो तत्काल अन्य हुने सम्भावना छैन । संसद अधिवेशन नचलेको अवस्थामा भने अधिवेशन बोलाएको सातदिभित्र प्रधानमन्त्री चयन गरिसक्नुपर्ने व्यवस्था छ ।

सत्तारुढ कांग्रेस र एमालेबीच आलोपालाको सहमति भए अनुसार सरकारको नेतृत्वमा अब एमालेको पालो हो र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा हेरिएको छ ।

यसैगरी कात्तिक ३ गतेभित्र नयाँ राष्ट्रपति र उपराष्ट्रपति चयन गरिसक्नुपर्ने हुन्छ । संविधानको धारा २९१ मा संविधान प्रारम्भ हुँदा संसद अधिवेशन चलिरहेको भए ३० दिनभित्र राष्ट्रपति र उपराष्ट्रपति चयन गर्नुपर्ने व्यवस्था छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव अघि सभामुख र उपसभामुख चयन हुनेछ । पारित हुँदै गरेको नयाँ संविधानको धारा २९३ मा भएको व्यवस्था अनुसार संविधान जारी भएको २० दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्नेछ । onlinekhabar बाट

प्रकाशित मिति: २९ भाद्र २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्