सुकुना विद्यालय घटनामा थप एक पक्राउ, अनुसन्धानका लागि पक्राउ संख्या चार पुग्यो



मोरङ, ५ साउन । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा छात्रामाथि अमर्यादित व्यवहार गरेको आरोपमा भइरहेको अनुसन्धानका क्रममा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। यससँगै घटनामा पक्राउ पर्नेको संख्या चार पुगेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार यसअघि पक्राउ परेका विद्यालयका बस चालक प्रदीप भट्टराई, विज्ञान शिक्षक किशोरलाल गच्छदार र लेखापाल अबिरल मास्केसँगै झापाको बुद्धशान्ति गाउँपालिका–७ निवासी ३१ वर्षीय भीमप्रसाद नेपाललाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ। नेपाल विद्यालयमा नृत्य प्रशिक्षकका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ।

प्रहरीले चारै जनामाथि बालबालिकाविरुद्धको कसुरअन्तर्गत अनुसन्धान गरिरहेको छ। जिल्ला अदालत मोरङबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका गुनासा र प्राप्त उजुरीका आधारमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा प्राप्त प्रमाण तथा बयानका आधारमा थप संलग्नता देखिएपछि नेपाललाई पनि पक्राउ गरिएको हो।

यसअघि विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घको संयुक्त बैठकले आरोपित शिक्षक तथा कर्मचारीलाई अनुसन्धान अवधिभरका लागि निलम्बन गर्ने निर्णय गरिसकेको छ। सुन्दरहरैँचा नगरपालिकाले पनि निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न निर्देशन दिएको छ।

प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलबार