रतुवा खोलामा जैवीक प्रणालीबाट तटबन्धन
झापा, जेठ २५
वर्षेनी रतुवा खोलाको डुवान र कटान हुँदै आएको झापाको कमल गाउँपालिका –५ स्थित गुहेश्वरीमा जैवीक प्रणालीबाट तटबन्धन गरिएको छ ।
बाँस गाडेर करिव ११ सय फुट लामो तटबन्धन गरिएको हो ।
जेनेरेटरको माध्यमबाट पाइप गाडी सोही ठाउँमा सिंगो बाँस नै गाडेर जालीको स्वरुप दिइएको हो । निर्माण उपभोक्ता समितिका अध्यक्ष गोविन्द खनालले यस प्रकारको बाँध कंक्रिट भन्दा पनि भरपर्दाे र वातावरणमैत्री हुने जनाउनु भएको छ । ‘जति नै बाढी आएपनि नवगाउने गरी बाँस गाडिएको छ । बाँसबाटै जालीको स्वरुप समेत बनाइएकाले बाढीमा बगेर आउने झार तथा माटो यहाँ अड्किन्छ’ उहाँले भन्नुभयो, ‘यो वर्ष यहाँ अड्किएका झार पातबाटै खोलो थुनिन्छ । अर्काे वर्ष त हरियाली भइसक्छ ।’
श्रम र स्रोत समेत स्थानीय नै प्रयोग गरिएको भन्दै यस प्रकारको बाँध अन्यत्र पनि उपयोगी हुने उहाँको भनाई छ । तटबन्धनसँगै स्थानीयवासीको करिव २०० बिगाहा जमिन पनि कटानबाट जोगिनेमा स्थानीय आशावादी छन् ।
प्रकाशित मिति: २५ जेष्ठ २०७५, शुक्रबार
















