काठमाडौँ महानगरद्वारा सार्वजनिक स्थलमा मागेर बस्न पूर्ण निषेध गर्ने निर्णय
काठमाडौँ, २२ जेठ । काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रभित्रका सार्वजनिक स्थलहरूमा मागेर बस्ने कार्यलाई पूर्ण रूपमा निषेध गर्ने घोषणा गरेको छ ।
महानगरले बेसहारा, अशक्त, असहाय तथा अभिभावकविहीन सडक आश्रित व्यक्तिहरूका लागि भने मानव सेवा आश्रमसँगको सहकार्यमा मानवोचित व्यवस्थापन गर्ने जनाएको छ । उनीहरूको हेरचाह, औषधोपचार तथा लालनपालनका लागि एकद्वार प्रणालीमार्फत दीर्घकालीन समाधान लागू गरिने महानगरले स्पष्ट पारेको छ ।
महानगरका अनुसार माग्ने कार्यलाई पेशा बनाएका व्यक्तिहरूलाई सार्वजनिक स्थानमा बस्न निषेध गरिनेछ । शुक्रबार आयोजित पत्रकार भेटघाटमा प्रवक्ता नवीन मानन्धरले यो व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, प्रवक्ता मानन्धर, सामाजिक समितिका संयोजक रामकुमार केसी तथा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीसहितका पदाधिकारीहरूको उपस्थिति थियो ।
महानगरका तथ्यांकअनुसार २०७४ मङ्सिरदेखि हालसम्म २ हजार ४२१ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये १ हजार ५७१ पुरुष र ८५० महिला रहेका छन् ।
उमेरगत विवरण अनुसार ५ वर्षमुनिका १० बालबालिका, ६ देखि १७ वर्षका ६३, १८ देखि ३९ वर्षका ६५३, ४० देखि ५९ वर्षका ८५४ तथा ६० वर्षभन्दा माथिका ८४१ जना रहेका छन् ।
उद्धार गरिएकामध्ये ८८३ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ भने ५३४ जनालाई सामाजिक पुनःस्थापना गरिएको महानगरले जनाएको छ । आश्रममा बस्ने क्रममा १०१ महिला र २२२ पुरुष गरी ३२३ जनाको निधन भएको तथ्यांक पनि सार्वजनिक गरिएको छ ।
हाल मानव सेवा आश्रममा ३४४ जना आश्रित रहेका छन् ।
महानगरले तिलगंगा क्षेत्रमा स्क्रिनिङ सेन्टर सञ्चालन गरी सडकमा मागेर बस्ने व्यक्तिहरूको पहिचान, स्वास्थ्य परीक्षण तथा आवश्यक व्यवस्थापन गर्दै आएको छ । दिनको तीन सिफ्टमा उद्धार टोली परिचालन गरी उनीहरूलाई आश्रयमा लैजाने, अवस्था पहिचान गर्ने र सम्भव भएसम्म पारिवारिक पुनर्मिलन गराउने काम भइरहेको महानगरले जनाएको छ ।
महानगरले विगतका अनुभवलाई आधार मानेर काठमाडौँलाई “मागेर खाने सहर होइन, गरेर खाने सहर” बनाउने लक्ष्यसहित अभियान अघि बढाएको जनाएको छ ।
प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार
















