गाउँमा हात्तीले मच्चायो आतंक, सु्रक्षाका लागि हारगुहार

जनकपुर, जेठ २७
धनुषाको मिथिला नगरपालिका–७, ढल्केवरमा तीन दिनदेखि जंगली हात्तीले आतंक मच्चाएको छ । गत बुधबार राति जंगलबाट गाउँ पसेका तीन हात्तीले दुई घर भत्काउनुका साथै किसानको बालीनाली समेत नष्ट गरेका छन् ।
अहिलेसम्म ढल्केवर, एक्लेबर र केवलीपुर गरी तीन टोलमा दुई दर्जनभन्दा बढी घरमा हात्तीले क्षति पुर्याएको छ भने किसानको बालीनालीलाई समेत नष्ट गरेको छ ।
ती हात्तीलाई इलाका प्रहरी कार्यालय, ढल्केवरका प्रहरीले पाँच राउण्ड हवाई फायर गरी धपाएर जंगल छिराएको थियो । तर पछि पनि ती हात्ती राति पुनः गाउँमा पसेर आतंक मच्चाएको स्थानीय विष्णु बस्नेतले गुनासो गर्नुभयो ।
यद्यपि अहिलेसम्म हात्तीको आक्रमणबाट कुनै मानवीय क्षति भएको छैन । हात्तीले रातिराति गाउँ पसेर आतंक मच्चाउन थालेपछि स्थानीयबासिन्दा त्रसित हुँदै सुत्नसमेत छाडेका छन् ।
रातभर जाग्राम बसेर आआफ्नो जीउधनको सुरक्षा गर्न थालेको स्थानीय जितेन्द्र सिंहले बताउनुभयो । उनीहरूले हात्ती धपाएर शान्ति सुरक्षा कायम गरिदिन प्रशासनसँग गुहार मागेका छन् ।
धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले तीनवटै हात्तीलाई सुरक्षित ठाउँमा पु¥याएर गाउँबासीलाई समेत सुरक्षित पार्ने विषयमा जिल्ला प्रशासन कार्यालय र जिल्ला वन कार्यालयका प्रतिनिधिसँग छलफल भइरहेको बताउनुभयो । रासस
प्रकाशित मिति: २७ जेष्ठ २०७५, आइतबार
















