पार्टी बलियो बनाउन एक हौं : सभापति देउवा



काठमाडौँ, असार २५

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी दिनमा पार्टीलाई बलियो बनाउन सबै नेता कार्यकर्तालाई एक हुन आह्वान गर्नुभएको छ ।

आज काँग्रेसका पुराना नेताहरुसँगको अन्तक्र्रिया कार्यक्रममा उहाँले पार्टीलाई अन्तर्घातमुक्त र अनुशासित बनाई पुरानै अवस्थामा पुर्याउने दृढता व्यक्त गर्नुभयो । सभापति देउवाले पार्टीलाई सुदृढ गर्न आरोप प्रत्यारोपभन्दा माथि उठेर छलफल गर्नुपर्ने बताउनुभयो ।

वाम गठबन्धन र पार्टीभित्रको अन्तर्घात निर्वाचनमा पार्टी पराजयको प्रमुख कारण रहेको उल्लेख गर्दै सभापति देउवाले भन्नुभयो, “निर्वाचनमा टिकट एक व्यक्तिले पाउने हो, नपाउनेले हराउन लाग्नु त भएन नि ।” टिकट वितरणमा केही कमजोरी भएको स्वीकार्दै उहाँले आफ्नै साथीलाई दुश्मन देखेर अन्तर्घात गर्ने प्रवृत्तिलाई रोक्ने बताउनुभयो ।

निर्वाचनमा पराजयको कारण प्रधानन्यायाधीशमाथिको महाअभियोग पनि हो भन्ने भनाइको खण्डन गर्दै सभापति देउवाले भन्नुभयो – “नेपाल प्रहरीको प्रमुख सरकारले नै बनाउने हो । प्रहरीको कार्यसम्पादन मूल्यांकनका आधारमै उक्त काम तत्कालीन सरकारले गरेको हो ।”

कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा अहिलेसम्म काँग्रेसको विकल्प नभएको र आगामी दिनमा आउन सक्नेतर्फ सचेत रहन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

काँग्रेसमा स्थापनाकालदेखि नै गुट रहेको प्रसंग उल्लेख गर्दै उहाँले भन्नुभयो, “गुटलाई व्यवस्थापन गर्नुपर्छ ।” पार्टीमा निष्पक्ष न्याय र मूल्यांकनको व्यवस्था गर्न आवश्यक रहेको बताउँदै उहाँले पार्टीमा सुधारका लागि आत्मचिन्तन गर्नुपर्ने बताउनुभयो ।

वर्तमान सरकार कर्मचारी र लोकतन्त्र पक्षधरलाई तर्साएर सामाजिक फाँसीवादतर्फ उन्मुख रहेको उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले मुलुक र लोकतन्त्र बचाउन पनि काँग्रेस बलियो हुनुपर्ने विचार व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News