पाकिस्तानका पूर्वप्रधानमन्त्री शरिफ छोरीसहित पक्राउ, विमानस्थलमा तनाव


 


काठमाडौं, असार ३०
पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ छोरी मरियमसहित पक्राउ परेका छन् । भ्रष्टाचार मुद्दामा जेल सजाय सुनाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बेलायतबाट हिजो राति मात्रै स्वदेश फर्किएका शरिफसँगै उनकी छोरी मरियमलाई सुरक्षाकर्मीले गिरफ्तार गरेको छ। श्रीमतीको उपचारका लागि शरिफ परिवारसहित बेलायतमा थिए ।

भ्रष्टाचारसम्बन्धी एउटा मुद्दामा त्यहाँको अदालतले शरिफलाई १० र उनकी छोरी मरियमलाई सात वर्ष जेल सजाय सुनाएको छ ।

२५ जुलाइमा हुन लागेको निर्वाचनको पूर्वसन्ध्यामा स्वदेश फर्किएका शरिफलाई विमानस्थलमा उत्रिएलगत्तै नेशनल एकान्टिबिलिटी व्यूरो (एनएबी) ले पक्रेको हो ।

स्वदेश फर्किएका शरिफको स्वागतका लागि विमानस्थल पुगेका पाकिस्तान मुस्लिम लिग–नवाज पार्टीका कार्यकर्ता र प्रहरीबीच केहीबेर तनाव पनि सृजना भएको थियो । पार्टीले शरिफको स्वागतका लागि कार्यकर्तालाई विमानस्थलमा उपस्थित हुन उर्दी नै जारी गरेको थियो ।

तर पार्टी निर्देशनअनुसार विमानस्थलमा स्वागतका लागि पुगेका कैयौं समर्थकलाई प्रहरीले रोकेपछि तनाव सृजना भएको हो ।

प्रकाशित मिति: ३० असार २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्