पाकिस्तानको एउटै घटनामा १०५ को मृत्यु, १५० घाइते



इस्लामावाद, असार ३१

पाकिस्तानमा आसन्न निर्वाचनको प्रचारप्रसारका लागि गरिएको कार्यक्रममा भएको बम आक्रमणमा परी कम्तीमा १०५ जनाको मृत्यु भएको छ ।

बलुचिस्तान प्रान्तको मास्तुङ जिल्लामा शुक्रबार भएको यस घटनामा परी अरु १५० जना घाइते भएका अधिकारीले शनिबार जानकारी दिएका छन् । मृत्यु हुनेमा एक स्थानीय नेतासमेत रहेका बताइएको छ ।

घटनामा मृत्यु भएका र घाइते भएकाको यो विवरणको बलुचिस्तान प्रान्तका गृह मन्त्री अघा उमरले पुष्टि गर्र्नु भएको छ । घाइतेलाई विभिन्न अस्पतालमा उपचार भइरहेको उमरले जानकारी दिनुभयो ।

लडाकूहरुको समूह इस्लामिक स्टेट (आइएस)ले आफ्नो वेभसाइटमार्फत् घटना आफूहरुले गराएको जिम्मेवारी लिएको छ ।

राजनीतिक नेता नवाजजादा सिराज राइसानीलक्षित गरी आक्रमण गरेको जस्तो देखिएको मास्तुङका उपआयुक्त क्विम लासरीले बताउनुभयो । उहाँले आफ्ना मतदातालाई सम्वोधन गरिरहेका बेला बम आक्रमण भएको थियो ।

पाकिस्तानमा पछिल्लो तीन दिनमा भएका विभिन्न घटनामा परी १३० भन्दा बढीको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन् ।

यही जुलाई २५ तारिखका दिन हुनलागेको निर्वाचनको मिति नजिकिदै गर्दा हिंसाका घटना पनि बढ्दै गइरहेका छन् । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News