छोरी जन्माएको भन्दै घर निकाला, न्यायिक समितिले पनि गुनासो सुनेन



इनरुवा, साउन ३

सुनसरी जिल्लाको दुहबी नगरपालिका–६ कि राधा साह छोरी जन्मिएकोमा दुई वर्षदेखि घरेलु हिंसाबाट पीडित हुनुभएको छ ।

सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गरेर साहले आफू छोरी जन्माएकै कारण घरबाट निकाला भएको र अपहेलितसमेत भएको बताउनुभयो । उहाँले छोरी जन्मिएका कारण श्रीमान् र घरपरिवारबाट अपहेलित हुँदै अहिले माइतमा बस्न बाध्य भएको बताउनुभयो ।

साहले २०७२ सालमा २० वर्षको उमेरमा रामधुनी नगरपालिका–३, प्रिपाहका २४ वर्षीय गोपाल साहसँग विवाह गर्नुभएको थियो । विवाहपछि छोरी जन्मिएको भन्दै श्रीमानले कुटपिट गर्ने गरेको र घरबाट निकालेको पीडित साहले पत्रकार सम्मेलनमा बताउनुभयो ।

दुई वर्षदेखि दुहबीमा रहेकी आमाको घरमा बस्दै आएको बताउनुहुँदै साहले घर फिर्ता आएर रु १० लाख लिएर आउनुपर्ने माग श्रीमान्ले गरेको बताउनुभयो ।

आफू पीडित भएर पनि सम्बन्धित निकायले न्याय र चासो नदिएका कारण बाध्य भएर पत्रकार सम्मेलन गर्नुपरेको पीडित साहले बताउनुभयो । दुई वर्षकी छोरीसहित पत्रकार सम्मेलनमा उपस्थित भएकी साहले आफू अन्यायमा परेको भन्दै दुहबी नगरपालिकाको न्यायिक समितिमा निवेदन दिए पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो ।

आफू छोरी जन्माएकै कारण श्रीमान् र घरपरिवारबाट अलग भएकोमा उहाँले दुःख व्यक्त गर्नुभयो । उहाँले श्रीमान्सहित ससुरा ललित साह तथा सासु छिनादेवी साहले घरबाट निकालेको र घरमा फिर्ता आए रु १० लाख ल्याउन पटक पटक दबाब दिएको बताउनुभयो । पीडित साहले श्रीमान्कै घरमा बस्न पाउनुपर्ने मागसमेत गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News