भारतीय संसदमा नाटकः अविश्वासको प्रस्ताव दर्ता गरेकै पछिल्लो दिन मोदीसँग अंकमाल


 


नयाँदिल्ली, साउन ५

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कँग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग अंकमाल गर्नुभएको विषयले खुव चर्चा पाएको छ ।

भारतको तल्लो सदन लोकसभाको वर्षे अधिवेशनअन्तर्गतको बैठकमा सहभागी हुने क्रममा संसद भवनको बैठक कक्षमा गान्धीले मोदीलाई अनपेक्षित रूपमा अंकमाल गर्नुभएको हो ।

भारतीय संसद्मा प्रधानमन्त्री मोदीका विरुद्ध बिहीबार प्रतिपक्षी दल कँग्रेसले अविश्वासको प्रस्ताव दर्ता गराएको भोलिपल्ट शुक्रबार राहुलले मोदीलाई अंकमाल गरेकाले बढी चर्चा भएको बताइएको छ ।

प्रधानमन्त्री बसेकै ठाउँमा गएर राहुलले प्रधानमन्त्रीलाई अंकमाल गर्नुभएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

विपक्षी दल कँग्रेसले उक्त प्रस्ताव दर्ता गराएसँगै संसद् चल्न नदिने भन्दै संसदमा अवरोध पनि गरेको छ । सो अवरोधप्रति असन्तुष्टी जनाउँदै प्रधानमन्त्री मोदीले संसद्को काम कारबाहीलाई अवरुद्ध नगर्न आग्रह गर्नुभएको थियो ।

शुक्रबार बिहान ट्वीट गरेर उहाँले संसदीय कामकाज सुनिश्चित गर्न दिन राजनीतिक दलसँग आग्रह गर्नुभएको थियो ।

यो संसदको वर्षे अधिवेशन भएकाले यसले कानून निर्माणदेखि अरू धेरै काम गर्नुपर्ने भएकाले अवरोध गर्न नहुने प्रधानमन्त्री मोदीको जिकिर थियो ।

उहाँले सरकार कुनै पनि दलले उठाएका जुनसुकै विषयमा पनि छलफल गरी त्यसबाट समाधान निकाल्न तयार भएको भन्दै संसद् चल्न दिन आग्रह गर्नुभएको थियो । रासस÷एएफपी

प्रकाशित मिति: ५ श्रावण २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्