टीकापुर घटनाका आरोपीको वयान– पैसा दिएर आन्दोलनमा ल्याएका थिए


 


काठमाडौं, असोज १२

भदौ ७ गते कैलालीको टीकापुरमा एसएसपी सहित ८ जना प्रहरी र नावालकको ज्यान जानेगरी भएको घटनाको अध्ययन गर्न गठित संसदीय कार्यदलले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ । संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिको सोमवार बसेको बैठकमा कार्यदलका संयोजक जीवन श्रेष्ठले अध्ययन प्रतिवेदन पेश गरेका हुन् ।

प्रतिवेदनमा घटनाको अघिल्लो दिन स्थानीय प्रशासनको प्रयासमा सर्वदलीय, सर्वपक्षीय बैठक आयोजना गरी शान्तिपूर्ण आन्दोलन गर्ने र कुनै पक्षबाट कसैको कार्यक्रममा अवरोध नगर्ने सहमतीका साथै आन्दोलनमा कुनै प्रकारको हात हतियार नबोक्ने सहमती भए पनि धोकापूर्ण तरिकाले घटना घटाइएको उल्लेख गरिएको छ ।

घटनाको दिन जुलुसमा सुरुमा महिला, बालबालिका त्यसपछि ब्यानर टोली र ब्यानर पछि छापामार शैलीमा हतियारधारी समूह प्रयोग भएको प्रतिवेदन मा उल्लेख छ । घटनामा जुलुसमा आएकाले सानो सानो झोला बाकेर आएको र त्यसमा भाला, खुकुरी काँचको गुच्चा सहितको गुलेली पनि बोकेर प्रयोग गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा उक्त घटनाका क्रममा आन्दोलनमा आएकाहरुलाई पैसा दिएर ल्याएको पाइएका छ । घटनाको आरोपमा हिरासतमा रहेकाहरुले आयोजकहरुले आन्दोलनमा सरिक हुने प्रत्येकलाई ५ सय रुपैयाँ दिने र सरिक नभएमा एक सय देखि एक हजार रुपैयाँ सम्म जरिवाना गर्ने भनेकोले आफुहरु सहभागी भएको बताएको प्रतिवेदनमा उल्लेख छ  ।

यस्तै प्रतिवेदनमा घटनाको अर्को दिन थारु नेताहरुले आफुहरुको जीत भएको भन्दै भोज खाएको समेत उल्लेख छ । घटनाका दोषीको आशंकामा केहि घाइते सहित दश जना व्यक्तिलाई नियन्त्रणमा लिईएकोमा तीन जनालाई सोधपुछ पछि रिहा गरिएको प्रतिवेदनमा उल्लेख छ ।

समितिले सभासद जीवन श्रेष्ठको संयोजकत्वमा ओङदी शेर्पा, कमलाकुमारी घिमिरे, चन्द्रादेवी जोेशी र प्यारेलाल राना रहेकोे पाँच सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले घटनास्थलको स्थलगत अध्ययन अवलोकन तथा सरोकारवालासंग छलफल घटनास्थलको अध्ययन गरेर प्रतिवेदन तयार गरेका संयोजक श्रेष्ठले बताए ।

प्रकाशित मिति: १२ आश्विन २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्