श्रीमान आगनबाटै अस्ताए, छोराहरुले एक्ल्याए



लक्ष्मी रावत
धनगढी, भदौ ६
झण्डै १४ वर्षअघि कैलालीको धनगढी उपमहानगरपालिकाक वडा नम्बर ७ मनेहरा शिविरकी ४१ वर्षीया जीतमाया डगौरा थारु दुई छोरा र श्रीमानका साथ हाँसीखुशीका साथ जीवन बिताइहेकी थिइन् । साना दुई छोराहरु र श्रीमान श्रीमतीको सानो र खुशी परिवार ।

परिश्रम गरेर खान लाउन पुगेकै थियो । श्रीमानले दैनिक पाइडल रिक्सा चलाएर आर्थिक स्रोत जुटाउँथे भने श्रीमती जीतमायाले साना छोराहरुको रेखदेख र घरबार हेर्थिन् ।

समयक्रम यसैगरि आफ्नै गतिमा हिडिरहेको थियोे । तर, त्यतिनै बेला जीतमायाको जीवनमा बज्रपात आइपर्यो । दिनभर रिक्सा चलाएर बेलुका घर फर्किएका श्रीमान घर अगाडि आँगनमा प्रवेश गर्नै खोज्दा रिक्सासहित नालीमा पल्टिए, नउठ्न सक्नेगरि सदाको लागि ।

घरपरिवारको पालन पोषण गर्ने घरमुली श्रीमानले नै संसार छोडेर गएपछि जीतमायालाई नाबालक छोराहरुको पालनपोषण गर्ने जिम्मेवारी थपियो । सात र तीन वर्षका दुई नाबालक छोराको पालनपोषणको सम्पूर्ण जिम्मेवारी आफूमाथि थुप्रिएपछि जीतमायाले कुनै आर्थिक उपार्जनको बाटो खाज्नुपर्ने भयो । बेसाहारा बनेकी विधुवा जीतमाया बच्चाहरुको पालनपोषणका लागि निकै भौतारिन् ।

छोराहरु ठूला हुँदै गए पालनपोषणमा थप समस्या हुँदैगयो । आर्थिक अभावकै कारण उहाँले छोराहरुलाई पनि विद्यालय भर्ना गर्न सकिनन् । सगैका छिमेकीका छोराछोरी विद्यालय जान्थे । उनी हेरिरहन्थिन् ।

समस्या झन बढी बल्झिदै गएपछि जीतमायाले आर्थिक उपार्जन हुने खालको काम गर्नुपर्छ भन्ने सोच पलायो । त्यतिनै बेला गाउँमा निःशुल्क साइकल मर्मत गर्ने तालिम सञ्चालन भयो । एक महिनाको तालिम गरिन् । तर, अब अगाडि भन्ने कुनै तरिका र पैसा थिएन उनीसंग । उनको सोच थियो साइकल मर्मत गर्ने पसल सञ्चालन गर्ने । यतिले मात्रै पुगेन । यसका लागि चाहिने पैसा थिएन उनीसंग । तर, उनले कतैबाट पनि पैसाको जाहो गर्नुको विकल्प पनि थिएन ।

पछि उनले एक छिमेकी दिदीबाटै एक हजार रुपैयाँ सापटी लिइन् । आज भन्दा नौं वर्षअघि एक हजार रुपैयाँ सापटी लिएर साइकल मर्मत गर्न चाहिने केही सामान किनेर घरकै अगाडि त्रिपाल टाँगेर साइकल मर्मत गर्न सुरु गरिन् । श्रीमान बितेको चार वर्षसम्म जसोजतो दिन काटेकी जीतमायाले साइकल मर्मत गर्न थालेपछि घर खर्च चलाउन र छोराहरुलाई पठाउन खासै समस्या भएन ।

साँझ विहान उठेको पैसाले छोराहरुलाई विद्यालय पढाउन थालिन् । छोराहरुको आवश्यकता पनि पूर्ति गर्दै गइन् । पछि त्रिपालमा रहेको साइकल मर्मत गर्ने पसल काठको खाकामा परिणत भयो । तर, श्रीमान वितेपछिका साहारा छोराहरु भने बिग्रिदै गए ।

कान्छो छोरा ४ कक्षामा पढ्दा पढ्दै १२ वर्षको उमेरमा चार वर्षअघि साथीहरुको लहलहैमा लागेर घरबाट भागेर भारत गयो । जेनतेन खर्च निकालेर छोराहरुलाई विद्यालयमा पढाउनुका साथै पालनपोषण गरिरहेकी जितमायालाई कान्छो छोराले छोडेर गएको डेढ वर्षपछि जेठो छोराले पनि छोडेर गए भारतमै ।

सानोमा हरेक दुःख भोग्दै पालन पोषण गरेर हुर्काएका छोराहरुले छोडेर गएपछि ४१ वर्षीया जीतमाया अहिले झन पीडामा छिन् । छोराहरु केहीकाँही घर आउने गरेको भएपनि उनलाई यसबारे कुनै मतलव हुँदैन । ‘सानोमा बुवाको अभावमा पनि छोराहरुलार्ई ठूला बनाइयो, अहिले छोराहरुले पनि छोडेर गए’ साइकल मर्मत गरिरहेको अवस्थामा मलिन स्वरमा जीतमाया भन्छिन्, ‘अहिले घरमा एक्लै बस्छु, पेट पाल्नका लागि साइकल मर्मत गर्ने काम छोडेको छैन ।’ छोराहरुको पालनपोषणमा आमाबुवाको भूमिका निर्वाह गरेर अहिले सुनसान घरमा एक्लै बस्दा उनलाई विगतको सम्झनाले कम्ती सताउँदैन ।

‘अहिले विगतका सम्झनालाई विर्सिन पनि दिनभर साइकल मर्मतमै खटिन् मन लाग्छ, घरमा एक्लै बस्न मन लाग्दैन’ उनले गहभरी आँसु झार्दै भनिन्, ‘साइकल पसलबाटै अहिले मासिक १२ देखि १५ हजार रुपैयाँ पनि बचत गर्छु ।’ मासिक रुपमा बचत भएको रुपैयाँले आफ्नो सुरक्षाका लागि उनले जीवन बीमा पनि गरेकी छन् । ‘छोराहरुको भरोसा लाग्दै’ उनले भनिन्, ‘बुढेस कालकाको सुरक्षाका लागि भएपनि अहिले बचत गर्ने गरेकी छु ।’

जीतमायाको जीवनको यो उतारचढाव सामान्य छैन । ‘जीवनसाथी छोडेर गएको अवस्थामा पछि पाखुरा लागेपछि साहाराका रुपमा रहेका दुई छोराहरुले पनि घरमा एक्लै छोडेर जाँदाको पीडा एक आमाका लागि सामान्य होइन’ उनी भन्छिन् ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
संस्थापक/ प्रधान–सम्पादक : ध्रुव सुवेदी
           
facebook
© 2018 Deshko News