यस्तो बन्दैछ बाबुरामको नयाँ पार्टी


 


baburamलुम्बिनी, असोज १७

एनेकपा (माओवादी) पार्टी परित्याग गरेर तराई मधेसका जिल्लाको दौडाहामा रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । लोकतान्त्रिक उपलब्धिलाई जोगाउन पुराना पार्टी र मुलुकको विकास गर्नलाई पुरानो एजेन्डाले नसक्ने भएको हुँदा नयाँ एजेन्डासहितको नयाँ शक्ति मुलुकमा अवश्यकता रहेको बताए ।

रुपन्देहीको धकधई क्षेत्रमा मधेस आन्दोलनको समर्थन तथा वर्तमान शासनविरुद्ध विशाल विरोधसभालाई सम्बोधन गर्दै उनले प्राप्त लोकतान्त्रिक उपलब्धिलाई जोगाउन र नपुगेका अधिकारलाई पूर्णता दिलाएर केही दशक आर्थिक विकासबाट समृद्धि ल्याउनुपर्ने बताए। हिजोको पुरानो शक्तिले अबको आर्थिक क्रान्ति सम्भव नभएको भन्दै नयाँ शक्तिको निर्माण गर्ने धेयका साथ आफूले पुरानो पार्टी परित्याग गरेको बताए।

नेता भट्टराईले सबैको सल्लाह लिएर मात्रै नयाँ शक्ति कस्तो र कसरी निर्माण गर्ने भन्ने टुङ्गो लाग्ने उल्लेख गरे ।छाडेको पार्टीलाई पुरानो भत्केको घर भन्दै त्यसमा कुनै पनि हालतमा नफर्कने दोहोर्याए ।

‘पार्टीहरु आवश्यकताअनुसार बन्छन्, आवश्यकताअनुसार भत्किन्छन्’, उनले भने, ‘अब हामी नयाँ युगमा प्रवेश गर्दैछौँ ।’ उनले एनेकपा (माओवादी) को एजेन्डा पनि पुरानो बनेको, त्यो अब एउटा भत्केको घरसरह भइसकेको, भूकम्पले भत्काएको घरमा जसरी रेड स्टिकर लाग्छ, त्यसरी नै एमाओवादी पार्टीमा पनि रेड स्टिकर लागेको र त्यो रेड स्टिकर लागेको घरमा बस्न जोखिमपूर्ण भएको कारण पार्टीबाट बाहिरिएको उल्लेख गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले मधेस आन्दोलनमा आफ्नो समर्थन रहेको बताउँदै आन्दोलन अझै पूरा भइनसकेको बताए । रासस

प्रकाशित मिति: १७ आश्विन २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्