किमलाई फेरि ट्रम्पसँग वार्ता गर्न दिक्षिण कोरिया र चीनको सुझाव ?


 


सोल, असोज ५
दक्षिण कोरिया र चीनले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फेरि शिखर बैठक गर्न सुझाव दिएका छन् ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले आणविक निशस्त्रीकरणका लागि उत्तर कोरियाली नेता किमले पुनः प्रतिबद्धता जनाएको जानकारी दिनुभयो ।

मुन र किमबीच यसैबर्ष मात्रै अहिलेसम्म तीन पटक बैठक भइसकेको छ । यसअघि गत अप्रिल २७ र मे २६ तारिखका दिन दुई कोरियाको शिखर वार्ता भएको थियो ।

त्यसैगरी किम र ट्रम्पबीच भने पहिलो पटक गत जुन १२ तारिखका दिन सिङ्गापुरमा ऐतिहासिक शिखर बैठक भएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पसँग दोस्रो शिखर बैठक गर्न चीनको विदेश मन्त्रालयले पनि बिहीबार किमलाई आग्रह गरेको छ ।
दुई कोरियाका शीर्ष नेताहरूको बैठक प्योङ्याङ्मा भइरहेकै बेला चीनको विदेश मन्त्रालयका प्रवक्ताले ट्रम्पसँग पनि शिखर बैठक फेरी गर्न किमलाई आग्रह गरेका हुन् ।

कोरियाली शिखर बैठकपछि जारी संयुक्त घोषणापत्रमा आणविक निशस्त्रीकरणप्रति चरणवद्ध रूपले अगाडी बढ्ने प्रतिबद्धता पुनः जनाइएकोमा चीनले खुशी व्यक्त गरेको छ ।

सिङ्गापुरमा भएको यसअघिको सहमती अनुसार नै अमेरिकाले पनि थप कदमहरू चाल्ने चीनले अपेक्षा गरेको जनाएको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता गेङ शुङले भन्नुभयो, “उत्तर कोरिया र अमेरिकाका शीर्ष नेताले एक अर्कासँग छिट्टै वार्ता गर्ने विश्वास लिइएको छ ।” रासस÷सिन्ह्वा

प्रकाशित मिति: ५ आश्विन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्