यात्रा मन्थन-मेरो मनभित्रको तिनी



जब म बिहानै उठ्छु र पश्चिमतिर नजर लगाउँछु,त्यतिखेर उनी मलाई हेर्दै मुस्कुराइ रहेकी हुन्थी । कहिले हिमसिरक ओढेर हेरिरहेकी हुन्थी भने कहिले बादलुकोघुम्टो ओढी लजाउँदै दृष्टि फ्याकिरहेकी ।

लाग्छ वर्षौदेखि झरी वर्षा सहेर मलाई नै पर्खिरहेकी छे । त्यसो त उनीलाई मात्र कहाँ हो र? मलाई पनि आफ्नो जिन्दगीको सबै अँश प्रत्येक दिन नजरपान गरेर मात्र सकिने भो भन्ने चिन्ता पनि त्यतिकै थियो ।

कहिलेकाहीँ इष्र्यालुहरुले तुवाँलोको पर्दा लगाई दिदा त्यो दिन मेरो रिसको आवेग कति डिग्रीमा चढ्थ्यो त्यो मापनीय हुन सक्दैनथ्यो ।

उनको आलिडगनमा म र मेरो लाली ओष्ठ उनको सपाट गालामा पार्न जब म यस साँसारिक चेतनाभित्र प्रवेश गरेँ, तबदेखि नै आशक्त भएपनि बीचमा प्रवाहित पिखुवा र त्यसले बनाइदिएको उकाली ओरालीले त्यस आशक्तिलाई मनमा गुम्साई राख्नु परेको अव्यक्त पिडा यहाँ कसरी छताछुल्ल बनाऊ , सोच्न सकिरहेको छैन ।

हुनत उनले पनि मेरो जस्तै स्पर्शहिन नेत्रपानको पीडा भोगिरहैकै होला । नत्र कहिले मुस्कुराउँदै र कहिले लजाउँदै हामी बीच लुकामारी हुने थिएन ।

मेरो उनीप्रतिको आशक्ति यसकारण पनि बढेको हुनसक्छ कि उनको सुन्दरताको वयान मेरो बालमस्तिष्कदेखि नै सुन्दै र देख्दै आएको थिएँ । त्यो बेला मेरा अग्रजहरु पेटीगफ गर्नुहुन्थ्यो—“ उनलाई बेलायतले समेत मागेका थिए रे ।

उनलाई दिए बापत नेपालका पहाडी खण्डमा विकासको खेती गरि दिने रे !” यस्ता कुराले पनि उनको सुन्दरताको समीप हुने चाहना बढ्दै गएको थियो । तर मेरा संगतीहरु गाउँ छाडिसकेका र भएकाहरु पनि आफ्नै कार्यव्यस्तताले गर्दा आफूलाई अभागीको सँज्ञा दिदै पुर्पुरोमा हात राखेर बस्नु बाहेक अर्को विकल्प देख्दिनथेँ ।

करीब ७ वर्ष अगाडिको कुरो हो । मेरा गाउँका नानीहरु उनको सुन्दरता पान गरेर आएका थिए ।उनीहरुले प्राप्त गरेको सुन्दरताको स्वादको वयान गर्दा झन मेरो मन उथलपुथल भयो । यस्तै वयानहरुले गर्दा उनको समीपता मात्र पनि मेरो सपना बन्न पुग्थ्यो ।

जब हिमसिरकभित्रबाट चियाउँथी तब उनको सुन्दरता अवर्णनीय झैँ लाग्थ्यो । लाग्छ, उडेर जाऊँ चरी जस्तै र टपक्क टिपी ल्याऊँ त्यस सुन्दरतालाई चोरले जस्तै । यसैले प्रत्येक प्रातःकाल पश्चिमतिर नजर लगाउँदै Beauty is to see but not to touch भन्ने मन्त्र सम्झदै आफ्नो कर्ममा लाग्थेँ । एउटा फ्याउरो र अमिलो अङ्गुरको कथा जस्तै ।

मैले बल्ल बुझ्दैछु —“मानिस किन गुणमा भन्दा सुन्दरतामा लोभिदा रहेछन् ।”
समयक्रम जति अगाडि बढ्दै जान्छ,त्यति मेरा लालसा पछाडि सर्दै जान्छ । म आफ्नो चाहना पूरा नहुने कुरामा करीव पक्का थिएँ ।

कहिलेकाही नसोचेको संयोग मिल्न जान्छ । कक्षा ७ की बहिनीले अघिल्लो वर्ष गरेको कुरा स्मरण गराइन् । अघिल्लो वर्ष सुन्तले घुम्न जादा नयाँ नयाँ स्थान घुमेर रिपोर्ट तयार गर्नुपर्छ भनेथेँ ।

मैले त्यो ठाउँमा पुग्न एकदिनले नपुग्ने र अभिभावकसंग परामर्श नलिइ जान पनि नसकिने चुनौतिआफ्नो ठाउँमा थियो नै तर अघिल्लो वर्ष मेरो बचन गइसकेको हुँदा मैले केही भन्ने अवस्था पनि थिएन ।

त्यसपछि मैले तिमै्र करेसामा खाइखेली गरेका विरोध सर र सुनिल सरसँग सल्लाह गरेपछि उहाँहरुको हौसलाले र विरोध सर पनि जाने कुराले उनीहरुलाई जाने निश्चित गराइयो ।उनीहरु पनि हौसिए , म पनि मनमनै मुस्काएँ । अब मेरो बर्षौ देखिको सपना पूरा हुने भो ।

२०७५ मंसिरमा हामी(विरोधसर, पदमकुमारीमिस, प्रमिला मिस,सौजन,मनिष, म र कक्षा ७ र१० भाइबहिनीहरु) भाडाको बसमा तिमीसँग भेट गर्न आयौँ तर हामीले सोचेको समय र सडक निर्माणले गरिएको व्यवधान र मंसिरका छोटा दिनका कारण चखेवासम्म पुग्याँै तर तिमीसँग भेट गर्ने तीब्र इच्छा मनभित्र कुण्ठित गर्दै फर्कनु पर्यो ।

मेरो पहिलो प्रयास यसैगरि तुहियो तर मन तुहिएको थिएन । कम्तिमा पहिलो पटक म तिम्रो करेसासम्म आइपुग्न सफल भएँ, त्यसैलाई धन्य ठानेँ । तिम्रो मुहार नजिकबाट नियाल्ने मौका पाएँ । तिम्रो घरभित्र जान मैले मेरो घरबाट देखे सोचेजस्तो सहज रहेनछ भन्ने पनि थाहा पाएँ ।

पुसतिर फेरि कक्षा १२ को शैक्षिक भ्रमणमा तिमीसंगको भेट पक्का हुने मिति तय भयो । म मनमनै निकै खुसी भएँ । अघिल्लो दिन म र सुनिल सर लगायत ६ जना विद्यार्थी सहित चखेवा पुग्यौँ । सुनिल सरको फुफुसासुको घरमा बास वस्यौँ ।

अत्यन्त पारिवारिक वातावरणमा । फुपाजु पनि अत्यन्त रसिक । यो पटक म अत्यन्तै खुसी थिएँ । तिमीसँगको भेट यो पटक पक्का थियो । मेरो हतासिएको मन र तिम्रो सदावहार यौवन , अहा! कस्तो उल्लसित होला त्यो मिलन । म विहानैदेखि कौतुहलित थिएँ । शैक्षिक भ्रमणको गाडी आइपुग्यो । विजयसर लगायत सबै उत्रे र लालायित मनहरु तिम्रो सुन्दरता पान गर्न हतारिए ।

म पनि पछि पछि लागेँ उकालीको थकान विर्सदै । जब म यी सबै कष्ट पार गर्दै तिम्रो लालीमयी ओठ चुम्न पुगेँ , साँच्चै मैले आपmूलाई सौभाग्यशाली ठानेँ । ती हिमालका रजतमयी मुस्कान , पिखुवाको हनुमानपिता लगायत प्रकृतिका मोहिनी सामिप्य अवर्णनीय नै थिए ।

समयले कोल्टे फेर्दै गएपछि तिम्रो मधुमुस्कान पक्रिरहन असमर्थ भएँ । ट्याम्के,साँच्चै तिम्रो वयान त्यतिकै गरेका रहेनछन् ।

अम्रिका

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
संस्थापक/ प्रधान–सम्पादक : ध्रुव सुवेदी
           
facebook
© 2018 Deshko News