मातृभाषा राष्ट्रिय सेवा पुरस्कारबाट प्राध्यापक तुलाधर सम्मानित



काठमाडौँ, २९ वैशाख।  मातृभाषा राष्ट्रिय सेवा पुरस्कार २०८२ बाट नेपाल भाषा साहित्यका इतिहासकार तथा समालोचक प्राध्यापक प्रेमशान्ति तुलाधर पुरस्कृत हुनुभएको छ । उहाँले नगद राशि एक लाख रुपियाँ पुरस्कारसहित उक्त सम्मान प्राप्त गर्नुभएको हो ।  

नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले प्रदान गर्दै आएको उक्त पुरस्कार यस पटक तुलाधरलाई प्रदान गरिएको हो । उहाँको पहिलो रचनाको रुपमा ‘जीवन व सङ्घर्ष’ निबन्ध नेपालभाषाको सितु पत्रिकामा प्रकाशित भएको थियो । उहाँ त्रिभुवन विश्वविद्यालयबाट एम.ए. (अर्थशास्त्र) मा महिलामध्ये पहिलो र  नेपालभाषामा पनि एम.ए. गर्ने पहिलो महिला हुनुहुन्छ । उहाँले पद्मकन्या क्याम्पसमा नेपालभाषा विषयमा ३५ वर्ष र नेपाल भाषा केन्द्रीय विभागमा पाँच वर्ष प्राध्यापन गर्नुभयो । यसअघि सो पुरस्कारबाट वाङ्मय शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशी सम्मानित हुनुभएको थियो ।

पुरस्कार छनोट समितिका संयोजक एवम् प्रतिष्ठानका पूर्व उपाध्यक्ष जितपाल किँरातले विभिन्न तथ्याङ्क खोज तथा प्रक्रिया पूरागरी उक्त पुरस्कार तुलाधरलाई दिने निर्णय भएको जानकारी दिनुभयो ।

कार्यक्रममा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगर, नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष निमा लामा, प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख राम मादेनले शुभकामना मन्तव्य राख्नुभयो । 

प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्