मुख्यमन्त्री राईद्धारा कृषि विकास निर्देशनालयको उद्घाटन


 


विराटनगर, असोज ८

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले कृषि विकास गर्न उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । प्रदेश नं १ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको नयाँ साङ्गठनिक संरचनानुसार स्थापित कृषि विकास निर्देशनालयको आज बिराटनगरमा उद्घाटन गर्दै उहाँले कृषिलाई आधुनिकीकरण र व्यावसायिकीकरण गरी रोजगारीको प्रशस्त अवसर सिर्जना गर्ने प्रदेश सरकारको लक्ष्य भएको बताउनुभयो । उहाँले प्रदेश नं १ मा १५ दिनभित्रका प्रदेश मातहतमा रहने सबै संरचना स्थापना गरिसक्ने जानकारी दिनुभयो ।

सो अवसरमा प्रदेश नं १ का मुख्य सचिव केदार न्यौपानेले आयात निरुत्साहन गर्न कृषि उत्पादन बढाउनेतर्फ प्रदेश सरकारको ध्यान गएको छ भन्नुभयो ।

यसैगरी प्रदेश सरकार, प्रदेश नं १ अन्तर्गत नयां संरचना स्थापना गर्नेतर्फ क्रियाशील भएको मुख्यमन्त्री राईले बताउनुभयो । सोअन्तर्गत यही असोज ११ गते धनकुटामा नयाँ स्थापित शिक्षा निर्देशनालय र स्वास्थ्य निर्देशनालय कार्यालयको उद्घाटन गर्ने कार्यक्रम छ । रासस

प्रकाशित मिति: ८ आश्विन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्