बंगबन्धु गोल्डकप : नेपालले ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्दै


 


काठमाण्डौँ, असोज १६

बंगबन्धु गोल्डकपमा नेपालले आज ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको सिलेट डिस्ट्रिक्ट रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ सवा ६ बजेदेखि सुरु हुनेछ । सन् २०१६ मा भएको प्रतियोगिताको चौथो संस्करणमा नेपालले बहराइनको यू–२३ टोलीलाई हराएर उपाधि जितेको थियो ।

ताजिकिस्तानविरुद्धको खेलअघि नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले अन्तिम समयमा सहभागिता निश्चित भएपछि छोटो तयारीका बावजूद सहभागिता जनाएको बताउनुभयो । आज ताजिकिस्तानविरुद्ध उत्रँदै गर्दा नेपाली टोली साविक विजेताको दबाबमा हुनेछ ।

हालै सम्पन्न साफ च्याम्पियनसिपको सेमिफाइनलमा पराजित भएको नेपालले बलियो मानिएका ताजिकिस्तान र प्यालेस्टाइनसँग समूह चरणमै प्रतिस्पर्धा गर्नुपर्नेछ । फिफा वरीयातामा नेपालभन्दा ४० स्थान माथि रहेको ताजिकिस्तानसँग नेपालले गएको वर्ष दुई खेलमा हार व्यहोरेको थियो ।

एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालले ताजिकिस्तानसँग घरेलु मैदानमा २–१ गोलको पराजय व्यहोरेको थियो भने ताजिकिस्तानको मैदानमा ३–० ले पराजित भएको थियो ।

प्रकाशित मिति: १६ आश्विन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्