उर्लाबारीमा डेँगु नियन्त्रणका लागि लार्भा नष्ट


 


उर्लाबारी (मोरङ), असोज २८

उर्लाबारी नगरपालिकाले डेँगु रोग नियन्त्रणका लागि लामखुट्टेको वासस्थान खोजेर त्यसको लार्भा नष्ट गरेको छ । उर्लाबारी नगरपालिकाको हिजो र आज गरी नगरका ९ वटै वडामा रहेका झाडी,  ग्यारेज तथा टायर पसल र कवाडिमा खुला रुपमा फालिएका टायर, प्लाष्टिकका वट्टाहरु,व्याट्रिका र रंगका वट्टाहरू लगायतमा जम्मा रहेका सङ्लो देखिने पानीमा डेङगू गराउने लामखूट्टेले फूल पार्ने वासस्थान खोजी गरी नगर प्रमुख खड्ग फागोसहित, स्वास्थ्यकर्मी, महिला स्वयंसेविका लगायतको टोलीले लार्भा नष्ट गरेको हो ।

उर्लाबारी नगरपालिका स्वास्थ्य शाखा सहसंयोजक रेणुकाप्रसाद काफ्लेले डेँगु सार्ने लामखुट्टेको वासस्थान र लार्भा नष्ट पारेर यसबाट बच्ने उपायका बारेमा स्थानीयबासीलाई जानकारी दिइएको बताउनुभयो ।

उहाँले पानी भएको जुनसुकै ठाउँमा पनि त्यस्तो लामखुट्टेले फूल पार्नसक्ने उल्लेख गर्दै नगरको वडा नम्बर ७ डेँगुको बढी जोखिममा रहेकाले त्यस क्षेत्रमा विशेष जनचेतना कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । उर्लाबारीमा गत वर्ष वडा नम्बर ७ का वडाध्यक्ष बिरवल थापालाई नै डेँगु रोग लागेको थियो ।

प्रकाशित मिति: २८ आश्विन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्